। परराष्ट्रमन्त्री शिशिर खनालले उद्योग, व्यवसाय तथा लगानीका लागि सहज वातावरण निर्माण गर्न सरकारले कानुन संशोधनको काम अघि बढाइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार भएको भेटघाटमा उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
मन्त्री खनालले सरकारले केही हप्ताभित्रै कुन–कुन कानुन संशोधन गर्न लागिएको र त्यसबाट लगानी तथा व्यवसाय सञ्चालनमा कसरी सहजता ल्याउन खोजिएको भन्ने विषय सार्वजनिक हुने बताए । उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने सरकारको अपेक्षा रहेको उनको भनाइ थियो ।
‘जति हामी देशलाई लगानीमैत्री बनाउन सक्छौं, त्यति नै उद्योग व्यवसाय फस्टाउँछन् । त्यसबाट बल्ल रोजगारी सिर्जना हुन्छ भन्ने दृष्टिकोणसहित काम गर्दैछौँ,’ उनले भने, ‘त्यसको नतिजा आउन केही समय लाग्छ ।’
सरकारको ध्यान अहिले व्यापार, व्यवसाय सञ्चालन र लगानीका लागि सहज वातावरण बनाउन कानुन संशोधनमा केन्द्रित रहेको उनले बताए । कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने भन्दै उनले सरकार र संसद् मिलेर आवश्यक कानुन संशोधन गर्नुपर्ने धारणा राखे ।
यसका लागि सरकारले आगामी संसद् अधिवेशनमा समेत कानुन संशोधनका प्रयासलाई अघि बढाउने तयारी गरेको उनको भनाइ थियो । केही कानुन संशोधनको प्रक्रिया परराष्ट्र मन्त्रालयबाट समेत अघि बढिसकेको उनले जानकारी दिए ।
गैरआवासीय नेपालीको अधिकार प्रयोग सहज बनाउने प्रयास
खनालले गैरआवासीय नेपालीहरूले संविधान र कानुनले व्यवस्था गरेका अधिकार प्रयोग गर्न सहज बनाउने विषयमा पनि कानुनी सुधारको प्रयास भइरहेको बताए । परराष्ट्र मन्त्रालय आफैंले केही कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र अन्य कानुन संशोधनमार्फत पनि यसलाई सहज बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
उनले विद्यमान कानुनी व्यवस्थाअन्तर्गत विदेशको नागरिकता त्यागेर नेपाली नागरिकता कायम गर्न चाहने व्यक्तिले सम्बन्धित प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्थासमेत रहेको उल्लेख गरे ।
संविधानले चिनेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधन आवश्यक पर्ने विषय र विद्यमान कानुनी व्यवस्थाबाटै सम्बोधन गर्न सकिने विषय फरक रहेको बताए ।
टोखा–छहरे सुरुङको रेखांकन अझै अनिश्चित
आफू निर्वाचित क्षेत्रका बासिन्दासँगको भेटघाटमा मन्त्री खनालले टोखा–छहरे सडक तथा प्रस्तावित सुरुङमार्गको मापदण्डबारे पनि स्पष्ट पारे । उनले टोखा–छहरे सडकको मापदण्ड अहिलेको सरकारले परिवर्तन नगरेको र २०७६ सालमा निर्धारित मापदण्ड नै कायम रहेको दाबी गरे ।
उनका अनुसार अहिले सामाखुसीसम्मको सडक दुई लेनको रहेको र सडकको राइट अफ वे १५–१५ मिटर रहेको मापदण्ड लागु छ । सडकको मापदण्ड परिवर्तन गर्ने वा ठूलो अन्तर्राष्ट्रिय राजमार्गको स्वरूपमा विकास गर्ने विषयमा सरकारले अहिलेसम्म निर्णय नगरेको उनले बताए ।
टोखा–छहरे सुरुङमार्गको प्रवेश बिन्दु, सुरुङबाट निस्किने स्थान र सडकको अन्तिम रेखांकनसमेत निश्चित भइनसकेको भन्दै उनले ८२ मिटर सडक मापदण्ड लगायतका विषयमा फैलाइएको चर्चा निर्णय भइसकेको विषय नभएको स्पष्ट पारे ।
‘टोखा–छहरे सुरुङको पोइन्ट के हो भन्ने आजको मितिसम्म कसैलाई पनि थाहा छैन । अध्ययन भइराखेको छ । प्रि–फिजिबिलिटी स्टडीको रिपोर्ट पनि आइसकेको अवस्था छैन । प्रि–फिजिबिलिटी स्टडी भएपछि फिजिबिलिटी स्टडी हुन्छ । त्यसपछि बल्ल निर्णय हुन्छ,’ उनले भने ।
उनले सुरुङमार्गको स्थान र त्यसले जोड्ने सडकको स्तर निर्धारण भएपछि मात्रै सडकको मापदण्डबारे अन्तिम निर्णय हुने बताए । अहिले नै ठूलो मापदण्ड लागू हुने भन्दै जनतामा भ्रम फैलाउनु उचित नभएको उनको भनाइ थियो ।
टोखा–छहरे सडकको मापदण्ड २०७६ सालदेखि नै चर्चामा रहेको भन्दै उनले नयाँ सरकारले सडकको दायाँ–बायाँको मापदण्डमा कुनै परिवर्तन नगरेको बताए ।
सडकको मापदण्ड र सुरुङमार्गको रेखांकन अनिश्चित हुँदा स्थानीय बासिन्दाको जग्गा मूल्याङ्कन, बैंकिङ कारोबार तथा ऋणसम्बन्धी समस्या उठेको प्रश्नमा उनले स्थानीय सरकारले घोषित मापदण्डभन्दा बाहिर गएर नक्सा पास रोकिरहेको भए सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरे । त्यस्तो समस्या आए भौतिक पूर्वाधार मन्त्रालयमार्फत आफूले फलोअप गर्ने उनले बताए ।
टोखा–छहरे सुरुङमार्गको अध्ययन यसअघि पनि विभिन्न चरणमा अघि बढेको थियो । २०७६ सालमा चिनियाँ परामर्शदाता टोलीले सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरी विभिन्न विकल्प प्रस्तुत गरेको थियो । त्यसपछि पनि आयोजना अघि बढ्ने विषयमा पटक–पटक चर्चा भए पनि निर्माणको ठोस निर्णय हुन सकेको छैन ।
खनालले संघीय सांसदका रूपमा आफ्नो प्राथमिकतामा साङ्ला खोला करिडोर रहेको पनि बताए । काठमाडौं क्षेत्र नम्बर ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ थियो ।
बजेट पारदर्शितामा जोड
मन्त्री खनालले संघ, प्रदेश र स्थानीय तहका बजेट सार्वजनिक जानकारीका लागि आफ्नो सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्दै आएको पनि बताए । जनतालाई कुन तहको सरकारले कहाँ र कति बजेट विनियोजन गरेको छ भन्ने जानकारी हुनु लोकतन्त्रमा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
बजेट पारदर्शिताले एउटै स्थानमा विभिन्न तहका सरकारबाट दोहोरो बजेट विनियोजन भएको अवस्था पहिचान गर्न समेत सहयोग पुग्ने उनले बताए । बजेटको प्रभावकारिता मूल्यांकन गर्ने अधिकार र जिम्मेवारी जनतासँग पनि रहेको भन्दै उनले गलत ठाउँमा बजेट विनियोजन भएको देखिए सम्बन्धित सरकारलाई उजुरी गर्न आग्रह गरे ।
प्रदेशको बजेटसम्बन्धी विषयमा स्थानीयले उठाएको प्रश्नलाई आफूले पनि सम्बन्धित प्रदेशका प्रतिनिधिसँग उठाउने प्रयास गर्ने उनले बताए ।