मुख्य समाचार
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान

। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान गरेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो ।

एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा परियोजना कार्यान्वयन सुरु (इन्ट्री इन्टु फोर्स) भएपछि अमेरिकी सहयोगबारे समीक्षाका कारण केही महिना काम स्थगित भएको, प्राकृतिक विपद्का कारण ढिलाइ भएको लगायत कारण एक वर्षसम्म म्याद थप गर्ने विषयमा नेपाल र अमेरिका दुवै सहमत भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा एमसीसी परियोजना १३ भदौ २०८० देखि कार्यान्वयनमा गएको थियो । सोही मितिदेखि पाँच वर्षभित्र परियोजना कार्यान्वयन भइसक्नुपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने एमसीसी कम्प्याक्टमा उल्लेख छ ।


तर, यसबीच अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उक्त सहयोगको समीक्षाका लागि केही समय कार्यान्वयन रोकिएको थियो ।

त्यस्तै गत वर्ष र यस वर्ष त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पनि परियोजना कार्यान्वयनमा असर परेको मन्त्रालय स्रोत बताउँछ । यी विषय मध्यनजर गर्दै एक वर्षसम्म परियोजना कार्यान्वयन म्याद थप गर्ने तयारी भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अमेरिका भ्रमणमा एमसीसीका निमित्त उपाध्यक्ष ज्यासन स्मलले उनीसँग भेट गरेका थिए । सोही भेटमा पनि दुई पक्षबीच परियोजना कार्यान्वयन म्याद थप गरेरै भए पनि यसलाई सफल कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्रालय स्रोतको भनाइ छ ।

परियोजना म्याद थपका विषयमा निर्णय गरिदिन एमसीए नेपालले अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । त्यस प्रस्तावका आधारमा अर्थ मन्त्रालयले म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।

अब नेपालका तर्फबाट म्याद थपको अनुरोध एमसीसी बोर्डमा पठाइने र आगामी डिसेम्बरमा बस्ने एमसीसीको बोर्ड बैठकले यसबारे सहमति प्रदानको निर्णय गर्ने सम्भावना रहेको पनि स्रोतले भनाइ छ ।

नेपालमा प्रसारण लाइन, सबस्टेसन र सडक पूर्वाधार बनाउन २९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच सम्झौता (कम्प्याक्ट) मा हस्ताक्षर भएको थियो । त्यसबेला एमसीसीले नेपाललाई ५० करोड डलर अनुदान उपलब्ध गराउने विषय उल्लेख थियो ।

तर, त्यो सम्झौता कार्यान्वयन गर्ने विषयमा नेपालमा लामो समयसम्म राजनीतिक तहमा विवाद भएपछि कम्प्याक्टलाई नेपालको संसद्ले अनुमोदन गर्न साढे ४ वर्षभन्दा बढी समय लगायो ।

१५ फागुन २०७८ मा मात्रै नेपालको संसद्बाट व्याख्यात्मक घोषणा सहित एमसीसी कम्प्याक्ट अनुमोदन भयो । र, सम्झौता भएको ६ वर्षपछि १३ भदौ २०८० देखि एमसीसी परियोजना कार्यान्वयनमा गएको थियो ।

एमसीसी अनुदान परियोजना कार्यान्वयन गर्न अमेरिकाले सुरुमा ५० करोड डलर अनुदान दिने सम्झौता भएको थियो । त्यसपछि उसले ५ करोड डलर अनुदान थप गरेको छ । यसरी यो परियोजनामा अमेरिकाको अनुदान कुल ५५ करोड डलर छ ।

नेपालले पनि यो परियोजनाका लागि सुरुमा १३ करोड डलर योगदान गर्ने सम्झौता भएको थियो । तर, एमसीसी परियोजना लागत बढ्ने भएपछि नेपालले मे २०२३ मा थप ६ करोड ७० लाख डलर लगानी बढाउने प्रतिबद्धता गरिसकेको छ ।

यसरी अमेरिकी सरकारको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख गरी ७४ करोड ७० लाख डलरमा प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार परियोजना कार्यान्वयन भइरहेको छ ।

नेपालमा एससीसीका अनुदानमा बन्ने परियोजनामध्ये १८ किलोमिटर प्रसारण लाइन निर्माण हालै सम्पन्न भइसकेको छ । साथै, २ सय ९७ किलोमिटर प्रसारण लाइन तथा तीन वटा सबस्टेसनको ठेक्का लागिसकेको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गमा पर्ने दाङ धानखेतदेखि लमहीसम्मको सडक स्तरोन्नतिको कामको पनि ठेक्का लागिसकेको छ ।

एमसीए–नेपालले न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन शिलान्यास भएको ९ महिनामै निर्माण सकेको छ । २८ भदौमा यो परियोजनाको काम सकिएको हो ।

एमसीसी परियोजनाले तनहुँ दमौली, नुवाकोट रातमाटे सबस्टेसन र नवलपरासीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माण गर्दैछ ।

त्यसअघि कुल ३ सय १५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि तीन वर्षअघि आह्वान भएको बोलपत्रमा बोलपत्रदाताले हालेको टेन्डरको न्यूनतम प्रस्ताव नै लागत अनुमान ६० प्रतिशत महँगो परेपछि २६ असोज २०८० मा सबै प्रक्रिया रद्द गरिएको थियो ।

प्रसारण लाइन परियोजनाको पुन: मूल्यांकन गरिएकोमा त्यसअघि छुट्याइएको बजेट अपुग हुने भएपछि अमेरिकी संसद्ले थप ५ करोड डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थपेको थियो ।

त्यसपछि सीमानाकासम्मको १८ किलोमिटरलाई छुट्टै टेन्डर आह्वान गरेर ठेक्का लगाइएको थियो भने बाँकी २ सय ९७ किलोमिटरका लागि तीन प्याकेजमा निर्माण सम्झौता भएको थियो ।

पहिलो पटक ठेक्का रद्द भएर दोस्रो पटकमा लागेका यी ठेक्काको म्याद एमसीसी कम्प्याक्टको म्यादभन्दा पनि पछाडिसम्म छ । त्यसो हुँदा यी परियोजना सम्पन्न गर्न पनि एमसीसी कम्प्याक्टको म्याद थप गर्नुपर्ने हुन्छ ।

२० जनवरी २०२५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले वैदेशिक सहायता समीक्षा सुरु गरी नेपाल सम्झौताको कार्यान्वयन रोकेका थिए । २०२५ जुलाई अन्तिम साता अमेरिकी सरकारले नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

यसरी करिब सात महिना परियोजना स्थगित भएको थियो । यसका अतिरिक्त गत वर्ष आएको त्रिशूली बाढीले पनि आयोजना कार्यान्वयनमा अवरोध गरेको थियो भने यसपालिको बाढीले थप समय लाग्ने अवस्था सिर्जना गरेको थियो ।

अमेरिकाले वैदेशिक सहायताबारे पुन: मूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्त्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी ...
: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी ...
। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली शैलीमा विवाहको मिति घोषणा गरेका हुन् । ‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री ...
: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो। जनकपुरधामका नगरप्रमुख ...
। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताएका छन् । शनिबार भक्तपुर नगरपालिका– १ मा आयोजित कार्यक्रममा उनले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन सकिने बताएका हुन् । उनले भक्तपुरमा तुलनात्मक रूपमा सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति भइरहेको पनि ...