: बोडेस्थित होल्डिङ सेन्टरमा रहेका बिस्थापित सुकुम्बासीलाई फकाउन शनिबार साँझ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पुगेकी छन्। उनले त्यहाँ बसिरहेका बिस्थापित सुकुम्बासीलाई सरकारको तर्फबाट आस्वस्त पार्न प्रयास गरिन्।
मन्त्री रावलले सरकार सुकुम्बासी ब्यवस्थापनमा प्रतिवद्ध रहेको र आफूले सुकुम्बासीलाई उनीहरूको स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा रहेको दाबी गरेकी छन्। जग्गा प्राप्त गर्ने निस्सा लिएर होल्डिङ सेन्टर छोड्न उनले सुकुम्बासीलाई पटकपटक आग्रह गरेकी छन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा सकिए पनि सुकुम्बासीले सेन्टर नछाडेपछि मन्त्री स्वयं उनीहरूलाई फकाउन शनिबार साँझ होल्डिङ सेन्टर पुगेकी हुन्। उनीसंग मन्त्रालयका पदाधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का पनि होल्डिङ सेन्टर पुगेका थिए। साँझ ६ बजे पुगेकी उनले करिब २ सुकुम्बासीका कुरा सुनिन्। मन्त्री आएपछि शुक्रबार साँझदेखि रोकिएको भातपानी पनि खुलेको छ।
सुकुम्बासीलाई अन्यायपूर्वक हटाउन नहुने भन्दै शुक्रबार जेनजी अभियन्ता लक्ष्मी घिमिरे, अंसुदा पौडेल लगायतको नेतृत्वमा जेनजी युवाहरू होल्डिङ सेन्टर पुगेर बिरोध प्रदर्शन गरेका थिए। शनिबार जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बम लगायतको टोलिले खाना खुवाएको थियो। अधिकारकर्मी, राजनीतिक दल र नेताहरु, नागरिक अगुवा र बुद्धिजीवीले पनि सरकारले जवर्जस्ती गर्नुनहुने सुझाव दिएपछि मन्त्री रावल स्थलगत छलफलको लागि आइपुगेकी हुन्। तर, सुकुम्बासीले भने आफूहरूको रोजगारी र श्रमको अवसर गाउँमा नभएको र दसकौ अघि गाउँ छोडेकोले पुनर्स्थापना सहज नहुने जिकिर गरिरहे।
होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिई वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबर्जस्ती हटाउने कार्य बन्द गरिनुपर्ने उनीहरूले मन्त्री समझ माग राखेका सुकुम्बासी प्रतिनिधि दलमर्दन कामीले जानकारी दिए।
त्यस्तै, जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुम्बासी नठहराउने निर्णयमा पुनर्विचार गरी निष्पक्ष स्थलगत निरीक्षण र छानबिनमार्फत न्यायिक निर्णय गरिनुपर्ने उनीहरूको माग छ। होल्डिङ सेन्टर छोड्न कोठा भाडा वा अस्थायी विकल्प मान्य नहुने अडान राख्दै उनीहरूले सुरक्षित र सम्मानजनक भूस्वामित्वसहितको आवास उपलब्ध गराइनुपर्ने स्पष्ट पारेका छन्।
वैकल्पिक व्यवस्थापनबिना भत्काइएका घरटहरा, नष्ट सम्पत्ति तथा जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति दिइनुपर्ने पनि मन्त्रीलाई पेश गरेको मागपत्रमा उल्लेख छ। त्यतिमात्र होइन, व्यवस्थापनबिना घरटहरा भत्काउँदा भएको जनधनको क्षति र निष्काशनका क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही तथा जवाफदेही बनाइनुपर्नेमागपत्रमा बताइएको छ। मागपत्र बुझेकी मन्त्री रावलले त्यसबारे भने कुनै प्रतिक्रिया दिइनन्। उनी सोमबार पुनस् आएर थप संवाद गर्ने आश्वासन दिदै बिदा भइन्।
मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र होल्डिङ सेन्टरमा १९ परिवारका ५९ जना बस्दै आएका छन्। उनीहरूमध्ये १७ जना बालबालिका छन्।