मुख्य समाचार
कांग्रेसले प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’को भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा मुद्दाले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागे
कांग्रेसले प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’को भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा मुद्दाले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागे

। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’को भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा मुद्दाले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे निर्णय गर्दै सीमा विवादलाई उच्चस्तरीय कूटनीतिक संवादमा प्राथमिकताका साथ उठाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।




कांग्रेसले प्रधानमन्त्री शाहको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणीसमेत गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध, विशेष गरी सीमाका विषयमा जसरी उहाँले अपरिपक्व तथा उत्तेजक कार्य र अभिव्यक्ति दिँदै लोकप्रियता प्रदर्शन गर्नुभएको थियो, पछि जब कूटनीतिक संवादमार्फत त्यो विषयलाई निर्णायक रूपमा उठाउने अवसर आयो, तब उक्त विषयलाई प्रवेश नै नगराई फर्किनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ ।’


कांग्रेसले बोली र व्यवहारबीचको विरोधाभासले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वता उजागर गरेको जनाएको छ । कांग्रेसले भ्रमणका क्रममा भएका सहमति र उपलब्धिलाई सकारात्मक रूपमा लिए पनि संयुक्त वक्तव्य जारी हुनुलाई मात्रै ऐतिहासिक उपलब्धि मान्न नसकिने स्पष्ट पारेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले विगतका सरकारले जारी गर्न नसकेको संयुक्त वक्तव्य यसपटक जारी हुनुलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै कांग्रेसले उपलब्धिको मूल्याङ्कन त्यसमा समेटिएका विषयवस्तु र राष्ट्रिय हितको सम्बोधनका आधारमा हुनुपर्ने बताएको छ ।

निर्णयमा भनिएको छ, ‘संयुक्त वक्तव्य वा दूरदृष्टि पत्र जारी हुनु आफैंमा मात्र उपलब्धिको पर्याप्त आधार होइन । त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा उपलब्धिको मूल्याङ्कन गरिनुपर्दछ ।’

सीमा विवाद समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादलाई प्राथमिकता नदिएको कांग्रेसको निष्कर्ष छ । उसले सरकारसँग भ्रमणका क्रममा सीमासम्बन्धी विषयमा भएको छलफल र आगामी दिनमा कुन संयन्त्रमार्फत कूटनीतिक पहल अघि बढाइन्छ भन्नेबारे संसद् र आमनागरिकलाई स्पष्ट पार्न माग गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका केही सहमतिलाई भने सकारात्मक उपलब्धिका रूपमा लिएको छ । भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई स्वागत गरेको छ ।

तर, सहमतिहरू कार्यान्वयनमा नजाँदासम्म पूर्णउपलब्धि मान्न नसकिने कांग्रेसको भनाइ छ । कांग्रेसले भैरहवा हवाई मार्ग सञ्चालनको स्पष्ट समयसीमा, विकास सहयोगको पारदर्शिता, सहुलियतपूर्ण ऋणका सर्त र लगानीको प्रतिफलबारे सरकारले जानकारी दिनुपर्ने माग गरेको छ ।

कांग्रेसले भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा रचनात्मक निगरानी राख्ने र राष्ट्रिय हितका संवेदनशील विषयमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘भएका सहमतिहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न नेपाली कांग्रेसको रचनात्मक निगरानी निरन्तर रहनेछ भने राष्ट्रिय हितका संवेदनशील विषयमा सरकार जहाँ–जहाँ चुकेको छ, त्यहाँ–त्यहाँ हाम्रो सशक्त खबरदारी रहनेछ ।’

नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौम समानता, आपसी विश्वास र साझा हितका आधारमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सरकारका सकारात्मक प्रयासमा साथ दिने तर आवश्यक कूटनीतिक पहल गर्न नसकेको अवस्थामा संसद् र सार्वजनिक मञ्चबाट प्रश्न उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीलाई छलेर भागेको कारबाट इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिबार २३७ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बाराको पथलैयामा रोक्न खोज्दा तिव्र गतिमा भागेको बा१७च २६३६ नम्बरको गाडीलाई पछ्याउँदै प्रहरी गाँजा बरामद गर्न सफल भएको हो । अमलेखगञ्जबाट आउँदै गरेको कार पथलैयाबाट पूर्वतर्फ फरार भएलगत्तै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) ...
। डोटीमा घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । २३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी ...
। हनुमानढोका दरबारको नासलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली(ङतभुलु अजिमा)को परम्परागत नाच देखाइएको छ । हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नासल चोकमा नाच देखाइएको हो । शनिबार नाचको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नी सहित नासलचोकमा पुगेका थिए । राष्ट्रपति बाहेक काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल, कांग्रेस सभापति गगन थापा ...
: १० भदौमा आएको भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पत्राचार गरे। उक्त बाढी जलवायु परिवर्तनकै कारण आएको वैज्ञानिक पुष्टि भएको भन्दै सहयोग पाउनुपर्ने दाबी नेपालको थियो। जवाफमा कोषले भोटेकोशी बाढीलाई सम्बोधन गर्न करिब २१.६ मिलियन डलर ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न ...