: काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४ औँ किन्डर ओलम्पिकको पहिलो चरणको खेलकुद कार्यक्रम भएको छ। शनिबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ प्रकारका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकता टिमका प्रतिनिधिहरूले संयुक्तरूपमा बेलुन उडाएर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक मेयर डंगोलले सानै उमेरदेखि बालबालिकाले यस्तो खेलकुद अवसर प्राप्त गर्नु सकारात्मक भएको बताउँदै खुसी व्यक्त गरिन्। उनले कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएका विद्यालय, अभिभावक तथा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरिन्।
एकताका अध्यक्ष सुवर्ण केशरी महर्जनले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अत्यन्त महत्वपूर्ण रहेको बताए। बालबालिकाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै संस्थाले हरेक वर्ष किन्डर ओलम्पिकमार्फत उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको उनको भनाइ थियो।
कार्यक्रममा बालबालिका विभिन्न खेलकुद पोशाक, विद्यालयका ब्यानर, खेलसम्बन्धी प्लेकार्ड तथा विविध संस्कृति झल्काउने भेषभूषासहित आकर्षक परेडमा सहभागी भएका थिए। कार्यक्रममा नृत्यसहित तेक्वान्दो, हुलाहुप, पिटी, जिम्न्यास्टिक, मार्सल आर्ट र जुम्बालगायतका सामूहिक खेल तथा शारीरिक अभ्यास प्रदर्शन गरिएको थियो।
प्रतियोगिताअन्तर्गत दुई ट्र्याक र १६ लेनमा व्यक्तिगत खेलहरू सञ्चालन गरिएको थियो। सहभागी बालबालिकालाई गोल्ड मेडल प्रदान गरिएको थियो। संस्थापक सदस्य लिना श्रेष्ठ र सदस्य अर्चना भण्डारीले ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नाराले बालबालिकामा खेल भावना, आत्मविश्वास र सहभागिताको महत्व उजागर गरेको बताए।
कार्यक्रमको अन्त्यमा सहभागी बालबालिकालाई मेडल तथा विद्यालयहरूलाई शिल्ड प्रदान गरिएको थियो। स्वास्थ्य सेवाका लागि अल्का हस्पिटलको टोलीले हेल्थ डेस्कमार्फत सहयोग गरेको थियो।