: झापाको बिर्तामोडस्थित विभिन्न होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ।
होटल तथा लजमा गैरकानुनी गतिविधि सञ्चालन हुने गरेको जनगुनासोका बीच प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र पारेको छ। यसै क्रममा गएराति एक युवतीसहित तीनजना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एन्ड लजबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
होटलमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति १० बजेर ४५ मिनेटमा छापा मारेको थियो। चेकजाँचका क्रममा होटल सञ्चालकसहित तीनजनालाई शंकास्पद अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा होटल सञ्चालक बिर्तामोड नगरपालिका–२ निवासी ३५ वर्षीय खगेन्द्र खड्का, इलामको फाकफोकथुम गाउँपालिका–१ निवासी २३ वर्षीय सुजन थापा र भारतको खर्साङ निवासी २२ वर्षीया प्रास्ना क्षेत्री रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।