: नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णय समेत गरेको कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए।
बैठकले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको, संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको उनले बताए। त्यस्तै पासपोर्ट प्रकरण र सुनकोसी-मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको सहमहामन्त्री शिवाकोटीले बताए।
स्थानीय चुनावको तयारीका लागि देशभरिका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत भएको उनले बताए। बैठकले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयको विरोध गरिएको शिवाकोटीले जानकारी दिए।
बैठकका पूर्ण निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।