: काठमाडौंको कपुरधाराबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने ३२ वर्षीय अजय थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, कपुरधारास्थित दक्षिणकाली मन्दिर अगाडिको एक घरको कोठामा लागूऔषध लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
चेकजाँचका क्रममा थापाको साथबाट १२.११ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका थापामाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी)दान बहादुर थापाले जानकारी दिएका छन्।