: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले कर्णाली प्रदेशबाट प्रशिक्षण अभियानको थालनी गर्ने भएको हो।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। जसको सुरुवात मंसिर १२ र १३ गते सुर्खेतबाट हुने उनले जानकारी दिए।
त्यसपछि सुदूरपश्चिमको कार्यक्रम धनगढीमा मंसिर १४ र १५ गते आयोजना हुनेछ। अन्य प्रदेशमा आयोजना हुने कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन।
प्रशिक्षण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत नेताहरू सहभागी हुनेछन्। सभापति लामिछानेले स्थानीय मुद्दालगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ। त्यस्तै महामन्त्री आचार्यले पार्टीको वैचारिक, सिद्धान्त तथा राजनीतिक दृष्टिकोण र क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीका अवधारणाका बारेमा प्रशिक्षण दिने कार्यक्रम छ।