: राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्बाट सिफारिस गरिएका अध्यादेश जारी हुन ढिलाइ भएको विषयमा ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री शाहले अध्यादेश जारी हुन नसकेको विषयलाई शिष्ट र कूटनीतिक ढंगले उठाएका हुन्। लामो समयपछि शीतल निवास पुगेका प्रधानमन्त्री शाहले भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिनपछि भएको भेटमा भ्रमणका उपलब्धि र द्विपक्षीय भेटवार्ताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
भेटवार्तामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। ‘समसामयिक राजनीतिलगायत विभिन्न विषयमा सौहार्दपूर्ण वातावरणमा राम्रो छलफल भयो,’ उनले भने।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाट सिफारिस गरिएका तीनवटा अध्यादेश जारी नभएकोमा चासो राखेका थिए। गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले ‘प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश’ र ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’ सिफारिस गरेको थियो। त्यस्तै, मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले ‘जेन—जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
संविधानको धारा ११४ मा संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। यता, नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरिसकेको छ।
गत कात्तिक २० गते महासंघकी अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशमा समावेश गरिएका प्रावधान र त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा ध्यानाकर्षण गराएको थियो। प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी अध्यादेश जारी गर्न खोजिएको जनाउँदै महासंघले आन्दोलनको घोषणा गरेको छ।
महासंघले मंसिर १३ देखि २० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने तयारी गरेको छ। सो अवधिसम्म माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन घोषणा गरिने चेतावनी महासंघका महासचिव रामप्रसाद दाहालले दिएका छन्।
संविधानको धारा ८१ मा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा पेस गरिने विधेयक, मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने स्पष्ट व्यवस्था छ। प्रधानमन्त्री शाहले बिहीबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग झन्डै पाँच घण्टा छलफल गरेपछि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
४ अध्यादेश निष्क्रिय
गत चैत १३ गते सरकार गठन भएयता मन्त्रिपरिषद्ले सिफारिस गरेका चार अध्यादेश निष्क्रिय भएका छन्। गत वैशाखमा मन्त्रिपरिषद्ले सिफारिस गरेका आठ अध्यादेशमध्ये चारवटा निष्क्रिय भएका हुन्। निष्क्रिय हुनेमा ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश, २०८३’ रहेका छन्।
संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ।
सभापति लामिछाने पनि भेटवार्तामा
प्रधानमन्त्री शाहले भेटवार्ता गर्नुअघि रास्वपा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भएको भेटका विषयवस्तुबारे औपचारिक रूपमा जानकारी गराइएको छैन। यद्यपि, लामिछानेको सचिवालयले सरकारको कामकारबाही, मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ।
भेटमा सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान हुने व्यवस्था छ।
सरकारले ढिलोमा मंसिर तेस्रो साताभित्र संसद् अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। संसद् आह्वानका विषयमा पनि राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच छलफल भएको छ।