: अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने हवाई यातायात प्रभावित भएको छ। आँधी गएको एक दिन बितिसक्दा पनि धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन।
बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र वेगको हावाहुरी र भारी वर्षासहित भीषण आँधी आएको थियो। आँधीपछिको वर्षाले तटीय क्षेत्रहरूमा बाढीको जोखिम बढाएको छ।
विद्युत् आपूर्ति निगरानी गर्ने वेबसाइट ‘पावरआउटेज डट यूएस’ का अनुसार विद्युत् कटौतीबाट पेन्सिलभेनिया राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। शुक्रबार बिहानसम्म पनि त्यहाँ ठूलो संख्यामा उपभोक्ताहरू विद्युत् सेवाबाट वञ्चित छन्।
पूर्वी तटीय क्षेत्रसँगै पश्चिमी तटीय क्षेत्रमा पनि आँधीको असर देखिएको छ। मौसममा क्रमिक सुधार आउन थाले पनि जनजीवन पूर्ण रूपमा सामान्य हुन अझै केही समय लाग्ने मौसमविद्हरूले बताएका छन्।
प्रतिकूल मौसमका कारण अमेरिकाको हवाई उडान तालिका समेत अस्तव्यस्त बनेको छ। उडान विवरण राख्ने वेबसाइट ‘फ्लाइटअवेयर डट कम’ का अनुसार शुक्रबार मात्रै २ हजार ७ सयभन्दा बढी उडान ढिला भएका छन् भने करिब १ सय ५० उडान रद्द गरिएका छन्।
यसअघि बिहीबार ‘थ्याङ्क्सगिभिङ’ पर्वका दिन पनि २ हजार ५ सयभन्दा बढी उडानमा ढिलाइ भएको थियो भने ४ सय ५० भन्दा बढी उडान रद्द गर्नुपरेको थियो।