: मध्यपुर थिमि नगरपालिकाले बागमती प्रदेशव्यापी अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसँगै १० लाख २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । अन्तरनगरपालिका स्तरमा सर्वाधिक पुरस्कार राशि रहेको यस फुटबल प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर, ‘फेयर प्ले’ टिमलाई ५० हजार तथा अन्य विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले समेत ५ हजार रुपैयाँ पाउनेछन् ।
फिफाको प्रचलित नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी पुस ११ गतेदेखि सानोठिमीस्थित मध्यपुर खेल मैदानमा खेलाइने कार्यतालिका छ ।
‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ अन्तर्गत मेयर कप फुटबल प्रतियोगिता हुन लागेको हो । मेयर कपसँगै पुस महिनाभर चल्ने महोत्सवमा राष्ट्रव्यापी बुद्धिचाल, उपत्यकाव्यापी भलिबल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नुकरलगायतका प्रतियोगिता समावेश गरिएका छन् ।
नगरपालिकाले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक, अनुशासित समाज र सक्षम युवा निर्माणको आधारका रूपमा विकास गर्ने लक्ष्य लिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।
महोत्सवमार्फत स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान हुनुका साथै मध्यपुर थिमिको कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा समेत योगदान पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।