मुख्य समाचार
कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग
कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग

। राष्ट्रिय किसान सञ्जालले कृषि उत्पादन लागत घटाउन, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न तथा बाढीपीडित किसानको पुनर्स्थापनासहित ११ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।

सञ्जालका संयोजक डा. प्रेम दंगालले प्रेस विज्ञप्तिमार्फत कृषि क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
किसानका समस्या पटकपटक सरकारसमक्ष प्रस्तुत गरे पनि अपेक्षित सम्बोधन नभएको भन्दै सञ्जालले सरकारको निर्णय, कार्यशैली र उदासीनताले कृषि क्षेत्रका समस्या थप जटिल बनाएको आरोप लगाएको छ ।

सञ्जालले कृषि उत्पादनमा प्रयोग हुने बीउ, मल, विषादी, कृषि औजार, उपकरण, इन्धन र विद्युत् लगायतका सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै उत्पादन लागत घटाउन मूल्य नियन्त्रण तथा राहतको व्यवस्था गर्न माग गरेको छ ।


उत्पादन लागत बढे पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा बिचौलियाले लाभ उठाउने र किसान तथा उपभोक्ता दुवै मारमा पर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

धानलगायत प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै सरकारले तोकेको मूल्यमा खरिद सुनिश्चित गर्न माग गरिएको छ ।

सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोके पनि प्रभावकारी खरिद व्यवस्था नभएको सञ्जालले जनाएको छ ।

धान, गहुँ, मकै, कोदो, तरकारी तथा फलफूललगायत अन्य कृषि उपजको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी किसानले अनिवार्य रूपमा उक्त मूल्य पाउने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

गत असोज १० गते भोटेकोशी तथा त्यसपछि बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लामा हजारौं रोपनी खेतीयोग्य जमिन, बाली, अन्नपात, पशुपन्छी तथा घरटहरा नष्ट गरेको सञ्जालले जनाएको छ ।

बाढी प्रभावित किसानलाई मल, बीउ, सिँचाइ र विद्युत् नि:शुल्क उपलब्ध गराउने, मालपोत मिनाहा, निर्व्याजी कर्जा र उत्पादन अनुदानसहित राहत प्याकेज घोषणा गर्न तथा क्षतिग्रस्त खेतीयोग्य जमिन पुनर्निर्माण गर्न माग गरिएको छ ।

दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर र पराललगायत सामग्रीको मूल्य बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्‍याउन सञ्जालले माग गरेको छ ।

सरकारी तथा निजी डेरी उद्योगबाट किसानले दूध बिक्री गरेको रकम समयमै पाउने व्यवस्था गर्न, बाँकी बक्यौता तत्काल भुक्तानी गर्न र ढिलाइको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

रासायनिक मलको नियमित आपूर्ति तथा सहज उपलब्धता सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी बनाउन र देशभित्रै मल कारखाना स्थापनासहित दीर्घकालीन समाधान खोज्न सञ्जालले आग्रह गरेको छ ।

पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामलगायत क्षेत्रमा सुपारी खेती विस्तार हुँदै गए पनि उत्पादित सुपारीको उचित मूल्य र बजार सुनिश्चित हुन नसकेको सञ्जालको भनाइ छ । सुपारीको डीएनए परीक्षणपछि मात्र निर्यात गर्नुपर्ने व्यवस्थाले स्वदेशी सुपारी निर्यात प्रभावित भएको भन्दै उक्त प्रावधान हटाउन माग गरिएको छ ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी र न्यायोचित प्रक्रियाबाट तत्काल समाधान गर्न पनि सञ्जालले आग्रह गरेको छ ।

वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने र घरटहरा भत्काउने कार्यले नागरिकलाई घरबारविहीन बनाएको भन्दै विस्थापित परिवारको उचित पुनर्स्थापना सुनिश्चित गर्न माग गरिएको छ ।

वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन, प्रभावित किसानको क्षतिको यथार्थ मूल्यांकन गरी तत्काल राहत दिन र वैकल्पिक बाली खेतीमा प्रोत्साहन गर्नुपर्ने माग पनि विज्ञप्तिमा छ ।

त्यस्तै, उखु उत्पादक किसानको समर्थन मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ निर्धारण गर्न, उद्योगबाट किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता तत्काल भुक्तानी गर्न तथा उखु बजार व्यवस्थापनका समस्याको दीर्घकालीन समाधान खोज्न सञ्जालले माग गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको परम्परागत जीवनशैली, कृषि, पशुपालन तथा आर्थिक गतिविधिमा विभिन्न प्रतिबन्ध र समस्या रहेको भन्दै उनीहरूको संवैधानिक तथा कानुनी अधिकार संरक्षण गर्न आवश्यक नीति, कानुन र योजना बनाउन पनि माग गरिएको छ ।

अन्तिम मागमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरिएको छ । ठेक्का प्रक्रिया रद्द भएपछि मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले सिँचाइ सुविधा पाउने अपेक्षामा ढिलाइ भएको भन्दै निर्माण कार्य अघि बढाउन, समयसीमासहित कार्ययोजना सार्वजनिक गर्न र निर्धारित समयमै सिँचाइ सुविधा उपलब्ध गराउन सञ्जालले माग गरेको छ ।

सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका–५, आलडाँडामा टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते भएका छन्। गुर्जेभञ्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तल्लो तहका बैठकहरूमा स्थानीय नागरिकका मुद्दाहरूलाई अनिवार्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले वडा तहको बैठक बस्दा कम्तीमा पनि तीनवटा स्थानीय मुख्य समस्यालाई एजेन्डा बनाउनुपर्नेमा जोड दिए । समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावक ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले संघीय संसद् अधिवेशन छिटो बोलाउन दबाब बढाएका छन् । अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क रास्वपाका पदाधिकारीहरूकै छ । ‘एकातिर धेरै भन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राज्यका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई समेट्ने गरी प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको बताएकी छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक ...
। नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् । नेता महतले कांग्रेसको इतिहास, ...