। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘शिक्षा संवाद’का क्रममा सातै प्रदेशबाट प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो ।
संवादका क्रममा प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन शुक्रबार मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणमा सबै सरोकारवालाको आवाज समेट्न खोजिएको बताए ।
‘शिक्षा ऐनको मस्यौदा तयार भएको छ । अध्ययन गर्दै जाँदा शिक्षक, प्रधानाध्यापक र विद्यार्थीका कुरा सुन्दा केही विषय अपुग भएको महसुस भयो,’ उनले भने, ‘सरोकारवालाको आवाज सुनेर कानुन बनाउनुपर्छ भनेर यसलाई प्राथमिकतामा राखेका हौँ । सिंहदरबारको कोठामा बसेर भन्दा पनि धरातलमै पुगेर बुझेर कानुन बनाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’
मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव समेटेर शिक्षा ऐनको मस्यौदालाई पूर्णता दिने तयारी गरेको छ ।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले सातै प्रदेशका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी तथा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग छलफल गरेर सुझाव संकलन गरिएको बताए ।
‘सातै प्रदेशबाट आएका सुझाव मन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौँ । शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी, प्रदेश र स्थानीय तह सबै सरोकारवालासँग संवाद गरेका थियौँ । प्राप्त सुझाव शिक्षा ऐनको मस्यौदामा समावेश हुने विश्वास छ,’ उनले भने ।
शिक्षा ऐनको मस्यौदा तयार पार्न शिक्षामन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा समिति पनि गठन गरिएको छ ।