मुख्य समाचार
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास व्यक्त
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास व्यक्त

। परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास व्यक्त गरेको छ ।

ईपीजी प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न समय प्राप्त हुने अपेक्षा गरेको जनाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सो अपेक्षा व्यक्त गरेका हुन् ।

उनका अनुसार ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका छन् । ईपीजी प्रतिवेदन दुवै पक्षको सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको छ ।


‘ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारणले उक्त प्रतिवेदन राखिएको साँचो परराष्ट्र सचिवज्यूलाई मिति २०८३ जेठ २१ गते हस्तान्तरण गर्नुभएको छ । त्यसअघि नै दुवै पक्षको सहमतिअनुसार उक्त प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको विषय जानकारी नै छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूहरूसमक्ष पेश गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा रहेको उनले बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलन गर्दै संयुक्त भिजन डकुमेन्ट सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटिएको र त्यसको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार तथा समन्वय गरिसकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

‘दुई देश नेपाल र भारतबीच ज्वाइन्ट भिजन डकुमेण्ट दुवै पक्षले जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटाहरुलाई समेटेको छ । ती पाटाहरुलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो साउथ एशिया महाशाखाबाट सम्बन्धित निकायहरुमा पत्राचार र समन्वय भइसकेको छ,’ क्षेत्रीले भने ।

प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको जानकारी पनि गराए ।

पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताए ।

दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् । नेता महतले कांग्रेसको इतिहास, ...
। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान भएको छ । यही मंसिर १५ गते बस्ने गरी समितिको बैठक आह्वान भएको हो । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्ने भनिएको छ । यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको ...
। काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए । अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘शिक्षा संवाद’का क्रममा सातै प्रदेशबाट प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो । संवादका क्रममा प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन ...
। भारत भ्रमण जानुअघि शिष्टाचार भेट नगरेकोमा आलोचना खेपिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वेदश फर्केको तीन दिनपछि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले भेटमा भारत भ्रमणका उपलब्धी र राष्ट्रपति कहाँ अड्किएका अध्यादेशबारे कुराकानी गरेका छन् । करिब २० मिनेट भएको भेटमा प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतबाट ठूलो आर्थिक प्याकेज पाउने र भैरहवा हवाइ रुटको ...