। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणाली थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।
नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा राखे ।
पाण्डेले हालै सरकारले जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३’ का केही प्रावधान सकारात्मक भए पनि त्यसले निजी क्षेत्र र निर्माण व्यवसायीलाई थप चुनौती सिर्जना गरेको धारणा राखे ।
‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५ सय ५० रुपैयाँ अर्थात् दैनिक ७ सय ५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम रहेको छ ।’
त्यस्तै पुराना ठेक्काको दर, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागु गर्दा व्यवसायीलाई आर्थिक भार पर्ने पाण्डेले बताए ।
यस्तो व्यवस्था लागु गर्नुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक रहेको उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले उक्त रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।