। नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको भन्दै आफूले चुनाव लड्दा भोगेको बुथ कब्जा र धाँधलीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन् ।
शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नै निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसे पनि त्यसको कुनै उपचार नभएको गुनासो गरिन् ।
‘हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ ? एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन, मेरो निर्वाचन क्षेत्रमा खस्यो तर उपचार त भएन,’ अर्यालले भनिन्, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’
उनले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाइन् । पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि निरन्तर प्रश्न उठ्ने गरेको उनको भनाइ थियो । ‘आज पनि निर्वाचन मनीले हुन्छ, मसलले हुन्छ र मिडियाले प्रभावित हुन्छ,’ उनले थपिन् ।
निर्वाचन प्रणालीमा वास्तविक सुधार ल्याउन पहिले विद्यमान विकृति र समस्याको सही पहिचान हुनुपर्नेमा अर्यालले जोड दिइन् । बेलैमा समस्या पहिचान गर्न सके मात्र समाधानतर्फ अघि बढ्न सकिने र समस्या नै नचिने समाधान ननिस्कने उनको तर्क थियो ।
छलफलका क्रममा अर्यालले लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँसुकै रहे पनि मताधिकारबाट वञ्चित हुन नहुने बताइन् । आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग अघि बढेकोमा प्रशंसा गर्दै उनले त्यसका लागि आवश्यक साथ र सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारिन् ।
तर, अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था कार्यान्वयन गर्दा भावनामा मात्र बगेर नहुने भन्दै उनले व्यावहारिक र कानुनी कठिनाइबारे आयोगलाई सचेत गराइन् ।
‘अन्तरदेशीय र अन्तरजिल्ला निर्वाचनमा भावनाका कुराले हुँदैन, कतिपय व्यावहारिक कठिनाइहरू पनि छन्,’ अर्यालले उदाहरण दिँदै भनिन्, ‘काठमाडौँमा बसेको कर्णालीको मान्छेले काठमाडौँबाटै मतदान गर्ने र ७७ जिल्लामै यो व्यवस्था लागू गर्ने हो भने काठमाडौँका प्रत्येक निर्वाचन केन्द्रमा ७७ वटा मतपेटिका राख्नुपर्छ । अझ पालिकालाई पनि समेट्ने व्यवस्था गर्ने हो भने कति हो कति मतपेटिका चाहिन्छन् ?’
अन्तरदेशीय र अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउँदा देखा पर्न सक्ने यस्ता व्यावहारिक जटिलता र केही कानुनी कठिनाइलाई बेलैमा सम्बोधन गरेर मात्र अघि बढ्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् ।