: सोनमा गाउँपालिकामा बिहीबार २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ।
मधेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य सरोज कुमार यादवले उक्त २ सडक योजनाहरूको शिलान्यास गरेका हुन्।सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री यादवले जानकारी दिएका छन्।
त्यस्तै सोनमा गाउँपालिका वडा नम्बर १ स्थित एनएनबी बैंकदेखि गुलरिया गाउँसम्म जोड्ने सडकको शिलान्यास गरिएको छ। जुन ९ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको छ। वडा नम्बर १ देखि वडा नम्बर ४ सम्म जोड्ने बहुवर्षीय सडक योजनाअन्तर्गत वडा नम्बर ३ स्थित हुलाकी राजमार्गदेखि सोनमा बजार हुँदै सोनमा माध्यमिक विद्यालय र सिंहासनीसम्म पुग्ने सडकको जोडने योजना रहेको छ।
यी सडक योजनाहरू निर्माण सम्पन्न भएपछि सोनमा गाउँपालिकाका विभिन्न बस्तीबीचको सडक सञ्जाल थप मजबुत हुने, स्थानीयवासीको आवागमन सहज हुने तथा कृषि, व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको पूर्वमुख्यमन्त्री यादवले जनाएको छन्।