। साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् ।
गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन भयो,’ उनले अनलाइनखबरसँग भने ।
परराष्ट्र मन्त्रालयका अनुसार साउदीमा पछिल्ला दिनहरुमा हुथी विद्रोहीहरुले आक्रमण गर्दै आएका छन् । उनीहरुले प्रहार गरेका मिसाइल र ड्रोनलाई साउदीको हवाई रक्षा प्रणालीले आकासमै रोक्ने प्रयास गर्दै आएको छ । त्यसक्रममा उछिट्टिएका टुक्राबाट आगलागी र मानवीय क्षतिका घटना हुँदै आएका छन् ।
‘अहिलेसम्म त्यस्ता टुक्राले चार जना नेपालीलाई लागिसकेको छ । एक जना सामान्य उपचारपछि घर फर्किनु भएको छ । दुई जना गम्भीर घाइते हुनुहुन्छ । एकजनाको त दु:खद निधन भइहाल्यो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले अनलाइनखबरसँग भने ।
घाइतेहरुलाई अस्पताल पुगेर भेट्ने र शव नेपाल ल्याउने प्रक्रिया साउदीस्थित नेपाली दूतावासबाट सुरु भइसकेको उनले बताए ।
‘उपचारको विषयमा फलोअप गर्ने र शव नेपाल फर्काउन समन्वय गर्ने लगायतका काम दूतावासबाट भइरहेको छ । त्यहाँ रहेका नेपाली समुदायलाई सचेत रहन अनुरोध गर्ने काम पनि भइरहेको छ,’ परराष्ट्रका प्रवक्ता क्षेत्रीले भने ।
नेपाल सरकारबाट आक्रमणको निन्दा
साउदी अरबमा हालै भएका आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको र अन्य तीन नेपाली घाइते भएको घटनाप्रति नेपालले दु:ख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
साथै मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले प्रेस नोट जारी गर्दै कुनै पनि बहानामा नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने धारणा सार्वजनिक गरेको छ ।
नेपालले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आह्वान पनि गरेको छ ।
नेपालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
कडा जवाफ दिने साउदी गठबन्धनको चेतावनी
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार पछिल्लो समय गत बिहीबार लालसागर तटीय क्षेत्रको जजानस्थित तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण भएको थियो । आक्रमणपछि केन्द्रमा आगलागी भएको र केही समयका लागि प्रशोधन केन्द्रको सञ्चालनसमेत रोकिएको थियो ।
आक्रमण कसले गरेको भन्नेबारे ऊर्जा मन्त्रालयले स्पष्ट उल्लेख नगरे पनि यसअघि यमनका हुथी विद्रोहीले आक्रमण गरेको साउदी नेतृत्वको सैन्य गठबन्धनले जनाएको थियो । आक्रमणअघि साउदी नागरिक सुरक्षा निकायले जजान प्रान्तमा सम्भावित जोखिमबारे चेतावनीसमेत जारी गरेको थियो ।
यमनका हुथी विद्रोहीले बुधबार साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र र प्रमुख तेल निर्यात केन्द्र रास तनुरा तथा लालसागरका जेद्दा र जजान बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको निन्दा गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले नागरिक र नागरिक पूर्वाधारलाई निशाना बनाउने कार्यको जवाफ कडा सैन्य कारबाहीबाट दिइने चेतावनी दिएका छन् ।