मुख्य समाचार
सञ्चारमन्त्रीले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी
सञ्चारमन्त्रीले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् ।

सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर सुधार्न सेवा प्रदायक र नियामक दुवै उत्तिकै जवाफदेही हुनुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले क्षेत्र सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सहजीकरण गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

‘अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ,’ सेवा प्रदायकहरूसँगको छलफलमा मन्त्री तिमिल्सिनाले भने, ‘तपाईंले सही गरेकोमा सजाय भयो भने म प्रत्येकको साथमा उभिन्छु । तर गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् ।’

एआईको विकाससँगै विश्व प्रविधि क्षेत्र फाइभ–जीबाट सिक्स–जीको बहसमा पुगिसक्दा पनि नेपालमा ‘फोन लाग्दैन’ र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई नभएको उनले स्पष्ट पारे ।


आजको अवस्था निर्माण हुनुमा कोही एकल जिम्मेवार नभए पनि सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले नियम पालना भए–नभएको आत्मसमीक्षा गर्न र कमजोरी भए तत्काल सच्याउन निर्देशन दिए ।

सेवा प्रदायकहरूलाई सरकारसँग सम्पर्कमा रहन आग्रह गर्दै उनले ‘म्यानेज’ गर्ने पुरानो प्रवृत्ति अब नचल्ने चेतावनी दिए । ‘राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, म्यानेज गर्नका लागि होइन,’ उनले भने, ‘म फेरि भन्छु- त्यो युग समाप्त भइसक्यो ।’

आफूले संसद्मा समेत यो वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको स्मरण गराउँदै मन्त्री तिमिल्सिनाले यो क्षेत्र स्वच्छ हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार वा मन्त्रीको कुनै गलत नियत र अनुचित अपेक्षा नरहेको दाबी गर्दै उनले वैधानिक रूपमा सरकारले गर्नुपर्ने सहयोगका लागि जहिले पनि ढोका खुला रहेको बताए । यति हुँदाहुँदै पनि सेवा प्रदायकहरू सक्रिय नभए त्यो उनीहरूकै लागि गुमेको अवसर हुने उनको भनाइ छ ।

‘सरकारको नियत कुनै सेवा प्रदायकलाई जरिवाना गर्नु वा जेल हाल्नु होइन, सरकारले चाहेको सेवाको गुणस्तर हो,’ उनले भने, ‘तपाईंहरू सही विकल्प दिनुस्, त्यसमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।’

सेवा प्रदायकका धारणा नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीरतापूर्वक टिप्ने र त्यसको ब्रिफिङ आफूले पनि लिने बताउँदै उनले नियम पालना गरी सही काम गर्नेहरूप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पारे । तर गलत खेल खेलिरहेकाहरूले त्यसैलाई निरन्तरता दिने सोचे गलत बाटोमा पुग्ने उनको चेतावनी थियो ।

नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगरी ‘सही काम गरेरै पैसा कमाउन सकिन्छ’ भन्ने उदाहरण दूरसञ्चार क्षेत्रबाट स्थापित गर्न उनले आह्वान गरे ।

के भनेका थिए मन्त्री तिमिल्सिनाले ?

एआईले प्रविधिलाई कहाँ पुर्‍याइसक्यो, फाइभ–जीबाट सिक्स–जीका कुरा सुरु भइसके । यस्तो बेला ‘फोन लाग्दैन’ भनेर बस्नुपर्ने र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई पनि छैन ।

आजको यो अवस्था निर्माणका लागि कोही पनि एकल जिम्मेवार छैन, तर हामी सबैको सामूहिक जिम्मेवारी छ । आफैँलाई हेर्नुहोस्, तपाईंहरूले के गरिरहनुभएको छ समीक्षा गर्नुहोस्, तपाईंहरूबाट के अपेक्षा गरिएको छ सोच्नुहोस् र नियम पालना गरिरहनुभएको छ कि छैन गम्भीरतापूर्वक विचार गर्नुहोस् । यदि पालना भएको छैन भने आफैँलाई सच्याउनुहोस् ।

आज तपाईंहरूको छलफल होस्, आफ्ना धारणा राख्नुहोस् । मैले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको छु- उहाँहरूले तपाईंहरूका कुरा गम्भीरतापूर्वक टिप्नुहुन्छ र त्यसको ब्रिफिङ मैले पनि लिउँला । सम्पर्कमा रहनुहोस्, तर राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, ‘म्यानेज’ गर्नका लागि होइन । म फेरि दोहोर्‍याउँछु- मैले पहिले नै भनिसकेको छु कि त्यो युग समाप्त भइसक्यो । अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ ।

तपाईंले सही काम गर्दा तपाईंलाई सजाय भयो भने म तपाईंहरू प्रत्येकको साथमा उभिन्छु । तर तपाईंहरूले गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् । त्यही हिसाबले मैले पटक–पटक संसद्मा यो वर्ष दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्ष (ट्रान्सफर्मेसन इयर) हुनुपर्छ भनेर घोषणा गरेको छु । टेलिकम क्षेत्र सफा हुनुपर्छ ।

मलाई भन्नुस्— कुन सरकारले आएर ‘यो सरकार वा मन्त्री कसैको पनि कुनै गलत नियत र अनुचित अपेक्षा छैन, तपाईंहरू राम्रो गर्नुस्, यो क्षेत्रलाई उचाल्नुस्’ भनेर तपाईंहरूलाई भनेको थियो र यसरी सहयोग कसले गरेको थियो ? यति गर्दा पनि तपाईंहरू सक्रिय भएर आउनुभएन भने यो तपाईंका लागि गुमेको अवसर हुनेछ र त्यसो गर्ने अधिकार तपाईंलाई छैन ।

आफैँ सोच्नुहोस्, छलफल गर्नुहोस्, कम्पनीभित्र आन्तरिक छलफल गर्नुहोस्, समय लिनुहोस् । सरकारले वैधानिक रूपमा के सहयोग गर्नुपर्छ- भोलि आउनुस्, पर्सि आउनुस्, निकोपर्सि आउनुस् । तर यो वा त्यो बहानामा अब हामीलाई गुणस्तरमा सम्झौता स्वीकार्य छैन ।

यो मैले बोलेको तपाईंको जति जिम्मेवारी छ, त्यतिमा मात्रै हो । तपाईंले कुनै आकाश ढाकेर बस्नुभएको छैन । जसको जे काम हो, त्यसमा त्यति गुणस्तर कायम भएको छ कि छैन ? यदि तपाईं नियम पालना गरिरहनुभएको छ, सही गरिरहनुभएको छ र जति गर्नुपर्ने हो त्यति गरिरहनुभएको छ भने धेरै धन्यवाद— यो मेरो गुनासो र असन्तुष्टि तपाईंप्रति होइन । तर, जसले साँच्चै यो क्षेत्रमा गलत खेल खेलिरहेको छ र गलत गरिरहेको छ, यो असन्तुष्टि त्यसको विरुद्धमा हो ।

जे भइसक्यो, भइसक्यो । यदि त्यसैलाई निरन्तरता दिने सोच राख्नुहुन्छ भने तपाईं गलत बाटोमा हुनुहुन्छ र कतै पुग्नुहुने छैन- कृपया यो कुरा मनमा राख्नुहोस् ।

म आशा गर्छु आजको छलफलबाट तपाईंहरूले राम्रो निष्कर्ष र एउटा दिशा निकाल्नुहुनेछ । एकअर्कालाई सहयोग गर्नुहोस् । फेरि एकपटक भन्छु— सरकारको प्रतिनिधिको हैसियतले मेरो नियत तपाईंहरूलाई सजाय दिनु होइन । कुनै पनि सेवा प्रदायकलाई सजाय गर्नु, जरिवाना गर्नु वा जेल हाल्नु सरकारले चाहेको होइन । सरकारले चाहेको त सेवाको गुणस्तर (क्वालिटी अफ सर्भिस) हो । तपाईंहरू विकल्प दिनुस् न ! तपाईंले दिएको सही विकल्पमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।

मेरो भनाइ यति हो- रचनात्मक रूपमा संलग्न हुनुहोस्, समाधान खोज्ने प्रयास गर्नुहोस् र एकअर्काबाट सकारात्मक सहयोग लिनुहोस् । नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगर्नुहोस् । एकअर्कालाई कसरी सहयोग गर्ने र स्वच्छ दूरसञ्चार उद्योग निर्माणमा कसरी योगदान पुर्‍याउने भन्नेमा केन्द्रित हुनुहोस् । यो एउटा उदाहरणीय क्षेत्र हो- सही काम गरेरै पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा कृपया स्थापित गरिदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताइन् । उनले ग्यास ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् । यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ...
। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्याल र एमालेका प्रमुख सचेतक ऐन महरसँगको भेटमा सभामुख अर्यालले यस्तो बताएका हुन् । सभामुख अर्याललाई भेट्न अर्याल र महर सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए । भेटमा समसामयिक राजनिति, संसदको हिउँदे अधिवेशन एवं संसदीय प्रक्रिया लगायतका ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ द्वारा बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए । ‘नेपाली कांग्रेस पार्टी प्रश्न गर्न जन्मिएको ...