: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’मा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई गम्भीरतापूर्वक लिइएको भन्दै अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।
मन्त्री साहले ३० देखि ९० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीले उठाएका मुख्य सरोकार, लगानी प्रस्ताव र नियामक अवरोध सङ्कलन तथा पहिचान गरी समाधान गर्ने योजना सुनाए। उनले लगानीकर्तालाई केवल पुँजी लगानीकर्ताका रूपमा मात्र नभई दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्दै संयुक्त लगानी, प्रविधि साझेदारी र उत्पादन क्षेत्रमा अघि बढ्न आह्वान गरे।
मन्त्री साहले बेलायतमा रहेको नेपाली डायस्पोरालाई लगानी, विशेषज्ञता, नवप्रवर्तन र ज्ञान हस्तान्तरणमार्फत दुई अर्थतन्त्रबिचको सेतु बन्नसमेत आग्रह गरे। नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार, सेवा क्षेत्र र पर्यटनमा सहकार्यका ठुला अवसर रहेको मन्त्री साहको भनाइ छ।