मुख्य समाचार
जेन–जी आन्दोलनका मुद्दा छानबिन गर्ने आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
जेन–जी आन्दोलनका मुद्दा छानबिन गर्ने आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

— सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित गम्भीर अपराधबाहेकका मुद्दामा क्षमादान दिन सक्ने अधिकारसहितको आयोग गठन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश सिफारिस गरेको छ । त्यस अध्यादेशमा पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोगले छुट्टै कोष स्थापना गर्ने व्यवस्थासमेत गरिएको छ ।

सिफारिस अध्यादेशमा जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपणका लागि छुट्टै आयोग गठन गर्ने भनिएको छ । आयोगलाई सामान्य प्रकृतिका मुद्दा क्षतिपूर्ति वा परिपूरणबिनै टुंग्याउनेदेखि मेलमिलाप गराएर प्रतिवादीलाई मुद्दाबाट उन्मुक्ति दिने (क्षमादान) सम्मको अधिकार रहनेछ ।

गृह मन्त्रालयले तयार पारेको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश’ मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा पारित गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अध्यादेशअनुसार गठन हुने आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित मुद्दामा पीडित र प्रतिवादीबीच मेलमिलाप गराउन, क्षतिपूर्ति वा परिपूरण उपलब्ध गराउन र गम्भीर अपराधबाहेकका मुद्दा किनारा लगाउन सक्ने भनिएको छ ।

सिफारिस गरिएको अध्यादेशमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि गम्भीर अपराधसँग सम्बन्धित मुद्दाबाहेकका अन्य मुद्दा आयोगले मेलमिलाप गराई वा क्षतिपूर्ति वा परिपूरण प्रदान गरी मुद्दाका प्रतिवादीलाई क्षमादान दिई मुद्दा किनारा लगाउनेछ । क्षति पुग्ने पक्षको सहमतिमा क्षतिपूर्ति वा परिपूरण नदिई समेत आयोगले त्यस्तो मुद्दा किनारा लगाउन सक्नेछ ।’ गम्भीर अपराध भन्नाले जेन–जी आन्दोलनका क्रममा भएको कर्तव्य ज्यानसम्बन्धी कसुर र योजनाबद्ध रूपमा हातहतियार प्रयोग गरी गरिएको जुनसुकै चोरीसम्बन्धी कसुरलाई परिभाषित गरिएको छ । यस्ता मुद्दा भने आयोगले किनारा लगाउन पाउने छैन । गम्भीर अपराधसँगै अन्य कसुरमा पनि मुद्दा चलेको अवस्थामा आयोगले गम्भीर अपराधको कसुर अलग गरी अन्य कसुरको मात्र निरूपण गर्न सक्नेछ ।

ads/1440x233asmis26-bluekv-2-15102026114551.jpg
सिफारिस अध्यादेशमा जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको क्षतिपूर्ति र परिपूरणका लागि छुट्टै कोष स्थापना गरिने भनिएको छ । कोषमा नेपाल सरकार, स्वदेशी व्यक्ति तथा संघसंस्थाबाट प्राप्त रकमका साथै विदेशी सरकार, संस्था र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त रकमसमेत रहनेछ । कोषमा रकम प्राप्त गर्न अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । कोषमा जम्मा भएको रकम आयोगको प्रशासनिक कार्यमा खर्च गर्न पाइने छैन । क्षतिपूर्ति तथा परिपूरणको आधार र मापदण्ड भने आयोग आफैंले निर्धारण गर्नेछ ।

क्षति पुगेको व्यक्तिले यसअघि क्षतिपूर्ति वा बिमाबापत रकम प्राप्त गरिसकेको भए दोहोरो क्षतिपूर्ति उपलब्ध नगराइने भनिएको छ । क्षतिपूर्ति पाउनुअघि नै पीडितको मृत्यु भएको अवस्थामा निजको परिवारका सदस्यलाई रकम उपलब्ध गराउने व्यवस्था सिफारिस अध्यादेशमा छ । त्यसमा भनिएको छ, ‘कुनै व्यक्तिले क्षतिपूर्ति वा परिपूरण प्राप्त गर्नॅअगावै निजको मृत्यु भइसकेको अवस्थामा क्षति पुगेको व्यक्तिले पाउने क्षतिपूर्ति वा परिपूरण निजको परिवारको सदस्यलाई उपलब्ध गराउनुपर्नेछ ।’

आयोगलाई जेन–जी आन्दोलनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा तथा प्रहरी अनुसन्धानमा रहेका उजुरी संकलन गरी छानबिन गर्ने अधिकार पनि दिइँदै छ । सिफारिस अध्यादेशको परिभाषामा खण्डमा मुद्दाबारे भनिएको छ, ‘जेन–जी आन्दोलनमा भएका घटनाको सम्बन्धमा अदालतमा दायर भई विचाराधीन रहेको मुद्दा वा पुनरावेदन सम्झनुपर्छ र सो शब्दले अनुसन्धानको क्रममा रहेको त्यस्तो घटनासँग सम्बन्धित उजुरीलाई समेत जनाउँछ ।’

ads/1-13102026041827.jpg
ads/2-13102026041844.jpg
ads/3-13102026041901.jpg
सिफारिस गरएको अध्यादेशअनुसार आयोगले घटनामा संलग्न पक्ष, क्षतिको अवस्था र पीडितको विवरण यकिन गरी मेलमिलाप तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेछ । कुनै मुद्दा जेन–जी आन्दोलनमा भएको घटनाको हो वा होइन भन्ने विवाद भए त्यसको निरूपण गर्ने अधिकार आयोगलाई हुनेछ ।

आयोगले किनारा लगाएका मुद्दा पुनः कुनै अदालतमा चलाउन नपाइने पनि भनिएको छ । किनारा लागेका मुद्दाको लगत कट्टा गरी महान्यायाधिवक्तामार्फत सम्बन्धित अदालतमा पठाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्ता मुद्दामा कैद वा थुनामा रहेका प्रतिवादीलाई मुक्त गर्न आयोगले कारागार व्यवस्थापन विभागमार्फत सम्बन्धित कारागारलाई लेखी पठाउनुपर्नेछ । आयोगबाट किनारा लगाउन नसक्ने गम्भीर अपराधका मुद्दाको सक्कल मिसिल भने महान्यायाधिवक्ताको कार्यालयमार्फत सम्बन्धित अदालतमा फिर्ता पठाउनुपर्नेछ ।

अध्यादेश जारी भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अध्यक्षसहित तीन सदस्यीय आयोग गठन गर्नेछ । उच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति अध्यक्ष बन्न सक्ने व्यवस्था छ । अध्यक्ष र सदस्यको योग्यता कम्तीमा स्नातक पास गरेको, नियुक्तिका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, मानवअधिकार, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रका क्षेत्रमा काम गरेको र ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान सिफारिस गरिएको अध्यादेशमा उल्लेख छ ।

ads/1140x233-1-13102026042348.jpg
आयोगको कार्यवधि अध्यक्ष र सदस्य नियुक्त भएको मितिदेखि तीन महिनाको हुने भनिएको छ तर त्यस अवधिमा काम नसकिए सरकारले म्याद थप गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच गत वर्ष २४ मंसिरमा भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि अध्यादेश ल्याउनुपरेको भनिएको छ । सिफारिस गरिएको अध्यादेशको प्रस्तावनामा ‘जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे परेका मुद्दाको थप छानबिन गर्न, सम्बन्धित पक्षहरूबीच मेलमिलाप गराउन, त्यस्तो घटनाबाट क्षति पुगेका व्यक्तिलाई क्षतिपूर्ति वा परिपूरणको व्यवस्था गर्न तथा त्यस्तो घटनासँग सम्बन्धित मुद्दा छिटो छरितो ढंगबाट किनारा लगाउन अध्यादेश ल्याउनुपरेको’ उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएपछि मात्रै अध्यादेश कार्यान्वयनमा आउनेछ । मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयमा आए पनि अध्ययन हुन बाँकी रहेको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले बताए । ‘जेन–जी आन्दोलनको घटनाका लागि आयोग गठन गर्ने भन्ने अध्यादेश मंगलबार आएको छ । बसेर अध्ययन गर्नुपर्नेर्छ,’ उनले भने ।

राष्ट्रपति कार्यालयका अर्का एक अधिकारीले भने यस अध्यादेशको अन्तर्वस्तुमा गम्भीरतापूर्वक अध्ययन गर्ने तयारीमा राष्ट्रपति रहेको जानकारी दिए । ‘मेलमिलापका नाममा जघन्य अपराधमा संलग्नलाई मुक्ति दिने बाटो खोल्ने विषय संवेदनशील छ,’ ती अधिकारीले भने, ‘यति संवेदनशील विषयमा अध्यादेशको बाटो रोज्नु गलत देखिन्छ । यसमा गम्भीर अध्ययन हुन्छ ।’ पूर्वकानुनमन्त्री एवं वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले भने अध्यादेश ल्याउनुपूर्व सरकारले पर्याप्त छलफल गरेको नपाइएको बताए । अध्यादेशका प्रावधान आफूले हेर्न नपाएको र सार्वजनिक पनि नभएकाले प्रतिक्रिया दिन गाह्रो रहेको उनले जनाए ।

ads/laxmi-sunrise-05102026100800.jpg
ads/rathicol-2-2992026115154.jpg
जेन–जी आन्दोलनका बारेमा अहिलेसम्म गौरीबहादुर कार्की नेतृत्वको आयोगले र अर्को राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरिसकेको उल्लेख गर्दै उनले अब सत्यतथ्य पत्ता लगाउने आयोगको खाँचो रहेको बताए । ‘२३ र २४ भदौमा गोली किन चल्यो र जेन–जी आन्दोलन किन भयो ? दुवै आयोगले त्यो पत्ता लगाउन सकेनन् । अब आयोग बनाएर छानबिन गर्ने भनेको सत्यतथ्य पत्ता लगाउनका लागि हो,’ उनले भने, ‘तर हिजो सशस्त्र द्वन्द्व किन भयो भन्नेबारेमा आयोग बनाइयो तर आयोगले त्यसमा काम गरेन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमुना सङ्कलन थालिएको छ । दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न अध्ययन तथा नमुना सङ्कलन थालिएको हो । ...
। नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा ...
— नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा सीमित भएको हो । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२.२६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२/८३ मा विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने ...
— सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल ...