— सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।
दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर पहल तथा ‘फलोअप’ गर्न निर्देशन दिए । नागरिकका गुनासा सरकारको प्राथमिकताको विषय भएकाले समाधानका लागि निश्चित समयसीमा तोकेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले देशभर नेटवर्क विस्तार भइरहे पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या कायमै रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिए ।
ग्राहक संख्या र सेवाको माग बढ्दै गएको अवस्थामा टावरको क्षमता विस्तार गर्न तथा नेटवर्क सुधारका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिन टेलिकमलाई निर्देशन दिइसकेको उनले जानकारी दिए । सेवा सुधारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग रहने उनको भनाइ थियो ।
नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार ६०० टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।
निरीक्षणका क्रममा दूरसञ्चार कार्यालय बनेपाका प्रमुख दिलीप ज्ञवालीले काभ्रेपलाञ्चोकमा करिब ३०० ग्राहकलाई राउटर उपलब्ध गराउन नसकिएको जानकारी दिए । फाइबर इन्टरनेटका ग्राहक बढ्दै गए पनि नयाँ राउटरको अभावमा नयाँ ग्राहकलाई उपकरण उपलब्ध गराउन समस्या भएको उनले बताए ।
'नयाँ राउटर उपलब्ध छैनन् । पुराना राउटर मर्मतसम्भार गरेर सञ्चालन गरिरहेका छौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने ग्राहकको सङ्ख्या बढिरहेको छ, तर नयाँ ग्राहकलाई राउटर उपलब्ध गराउन सक्ने अवस्था छैन,' उनले भने । कार्यालय प्रमुख ज्ञवालीले जिल्लाका विभिन्न स्थानमा सडक विस्तार तथा नेपाल विद्युत् प्राधिकरणका पोल सार्ने क्रममा नेपाल टेलिकमको ‘फाइबर टू द होम (एफटिटिएच)’ सेवाका केबलमा क्षति पुग्दा नेटवर्क सञ्चालनमा समस्या हुने गरेको जानकारी दिनुभयो । यस्ता संरचनागत कामका क्रममा टेलिकमको सञ्जालमा क्षति पुग्ने गरेको र सेवा नियमित बनाउन थप स्रोतसाधन आवश्यक रहेको उनले बताए ।
सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयस्तरमा देखिएका यस्ता प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि पहल गर्न र उपभोक्ताले गुणस्तरीय दूरसञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिए ।