मुख्य समाचार
नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरीले पक्राउ
नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरीले पक्राउ

। काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइ सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरोह नै पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भई फरार रहेका चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बिक र नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन् ।

प्रहरीले सङ्गीता तामाङलाई कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको जनाएको छ । अन्य तीन जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।


पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यसरी गर्थे लुटपाट

प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र अन्य सामान लुट्ने गरेको खुलेको छ ।

यसरी लुटपाट गरिएका गरगहनाहरू विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने तथा स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बनेपा नगरपालिका–६ मा बस्दै आएकी ५४ वर्षीया गङ्गा गुरुङलाई भदौ २४ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाएर लुटपाट गरिएको थियो ।

गुरुङको नगद ८ हजार रुपैयाँ र चार वटा राडी (कपडा) लुटिएको प्रहरीको विवरणमा उल्लेख छ । बेहोस अवस्थामा फेला परेकी उनलाई चार दिन आईसीयूमा उपचार गर्नुपरेको थियो ।

यस्तै, बनेपा नगरपालिका–४ मा बस्दै आएकी ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई जेठ १० गते आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो ।

बेहोस बनाएपछि उनीहरूको घरबाट सुनको रिङ दुई थान र सुनको तिलहरी एक थान लुटेर लगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनापछि हिरामाया सात दिन उपचार गर्नुपरेको थियो भने हस्तबहादुर एक दिन अस्पताल बसेका थिए ।

यस्तै, बनेपा नगरपालिका–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई भदौ २८ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरिएको थियो ।

उक्त घटनामा उनको साथबाट सुनको सिक्री एक थान, मोबाइल एक थान, सुनको औँठी एक थान र सुनको बाला एक थान लुटिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

भदौ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ मा बस्दै आएकी ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेको अवस्थामा दुई जना महिला पुगेका थिए ।

उनीहरूले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटेर लगेको प्रहरीले जनाएको छ ।

सुनचाँदी पसलमा बिक्री

प्रहरीले पीडितहरूसँगको समन्वय र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा घटनामा सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको जनाएको छ ।

गङ्गा गुरुङ तथा हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहनाहरू भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बिकलाई बिना रसिद बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पञ्चमाया तामाङको साथबाट लुटिएको सुनको बनेपा नगरपालिका–७ बस्ने प्रविन सुनुवारले धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालकलाई बिना रसिद बिक्री गरेको खुलेको छ ।

आपराधिक पृष्ठभूमि

प्रहरीका अनुसार पक्राउ परेकी सङ्गीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

भदौ ३१ गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित काञ्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उक्त घटनामा पनि सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सङ्गीता तामाङविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा चोरीसम्बन्धी मुद्दा चलेको र धरौटीमा छुटेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ ।

बिर्खबहादुर तामाङविरुद्ध पनि चोरी तथा डाँका मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

नवराज घिमिरे बिकले चोरीको सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीविरुद्ध पनि यसअघि चोरीसम्बन्धी मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको विवरण सार्वजनिक गरिएको छ ।

प्रविन सुनुवारको हकमा पनि चोरीको सुनका गरगहना खरिद गरी कारोबार गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो । शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस जलाशययुक्त आयोजनाको मुख्य पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ । गोरखाको गण्डकी गाउँपालिकास्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको ...
। नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला पुर्‍याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनित गरेको सूची आयोगमा पठाइएको हो । महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको ...
। नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी ...
। सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिव्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल ...
: प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण,दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका हुन्। उनले महिला,बालबालिका,लैङ्गिक तथा यौनिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम