। हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।
प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका यी स्थल छोटो दूरीको पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन् ।
सिमकोट गाउँपालिका–४ को बुराउसेमा पर्ने पञ्चमुखी हिमाल र लडेदह छोटो दूरीको पदयात्राका लागि उपयुक्त गन्तव्य मानिन्छन् । स्थानीयका अनुसार पञ्चमुखी हिमालको नामकरण हातका पाँचवटा औंलाको आकारमा देखिने भएकाले गरिएको हो ।
सिमकोट गाउँपालिका–४ का स्थानीय बुद्धिजीवी धर्मनन्द लामाका अनुसार यस क्षेत्रले ऐतिहासिक महत्वसमेत बोकेको छ । लामा समुदायमा भुउरीखार दरबार बोन संस्कृतिअनुसार पूजाआजा गर्ने स्थलका रूपमा परिचित रहेको उनले बताए । उनका अनुसार प्रचारप्रसारको अभावमा ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको यो क्षेत्र ओझेलमा परेको छ ।
मनमोहक हिमाल र लडेदह
समुद्री सतहबाट ५ हजार ४०० मिटर उचाइमा रहेको पञ्चमुखी हिमाल हातका पाँचवटा औंलाको आकारमा देखिन्छ । त्यस्तै, ४ हजार २२९ मिटर उचाइमा रहेको लडेदह निलो रङको मनमोहक दृश्यका कारण आकर्षक देखिन्छ ।
शान्त वातावरण, आँखैअगाडि चाँदीझैं टल्किने हिमाल र मनमोहक लडेदहको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको आन्तरिक पर्यटक मनोज बोहराले बताए । उनका अनुसार सदरमुकाम सिमकोटबाट बिहानै पदयात्रामा निस्किएर दिनभरि अवलोकन गरी साँझ फर्कन सकिन्छ ।
छोटो दूरीको पदयात्राका लागि उपयुक्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्रको प्रचारप्रसार गर्न आवश्यक रहेको बोहराको भनाइ छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले पर्यटकीय पदमार्ग विकासमा विशेष पहल गर्नुपर्ने उनले बताए ।
सदरमुकाम सिमकोटबाट मानसरोवर, बालमन्दिर र कैलाश माध्यमिक विद्यालयबाट बर्सेनि शैक्षिक भ्रमणका लागि पनि यस क्षेत्रमा जाने गरिएको छ । हिमशृङ्खला र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि पञ्चमुखी हिमाल र लडेदह आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ ।