: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधानविपरीत कार्य गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई विधानविपरीत गतिविधि नगर्न सचेत गराएका हुन्।
उनले शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको सदस्यता लिएमा सम्बन्धित पदबाट राजीनामा दिन आग्रह गरे।
'कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने ऊ कांग्रेसको सदस्य कायम रहँदैन,' थापाले भने, 'तपाईं अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने जुन सभामा हुनुहुन्छ, त्यसको सदस्यबाट राजीनामा गर्नुहोला। मेयर, वडाध्यक्ष हुनुहुन्छ भने राजीनामा गर्नुहोला।'
उनले सम्बन्धित जनप्रतिनिधिले राजीनामा नदिए पार्टी विधानअनुसार आवश्यक कारबाही हुने स्पष्ट पारे। पार्टीको विधान कार्यान्वयन गराउनु आफ्नो दायित्व र जिम्मेवारी भएको उनको भनाइ थियो।
'तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, पार्टीको विधानले गर्छ,' उनले भने।
थापाले आफू सबैलाई मिलाएर लैजाने जिम्मेवारीमा रहे पनि पार्टीको विधान पालना गराउनु सभापतिको दायित्व भएको बताए। उनले कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निकाल्ने धम्की नदिएको स्पष्ट पार्दै एउटा व्यक्ति कांग्रेसको सदस्य र अर्को पार्टीको सदस्य एकैसाथ हुन नसक्ने जिकिर गरे।
उनले कांग्रेसको अधिवेशनमा सहभागी हुने वा नहुने तथा आफूलाई समर्थन गर्ने वा आलोचना गर्ने विषयले फरक नपार्ने उल्लेख गर्दै अर्को पार्टीको सदस्यता लिने विषयमा भने विधानअनुसार निर्णय हुने बताए।