: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति ११:१५ बजे काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाई ल्याएका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट उक्त पदार्थ बरामद गरिएको हो। पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
लिन लिना साथबाट पाँच थान गोलाकार पहेँलो अर्धठोस पदार्थ प्लास्टिकसहित १ किलो ३४० ग्राम र लिन सिनपिङको साथबाट तीन थान पदार्थ प्लास्टिकसहित १ किलो ८ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।