: संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि,प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै आवश्यक कागजातहरू ७ दिनभित्र समितिमा उपलब्ध गराइदिन निर्देशन दिए । उनले प्रक्रिया,विधि,पद्धति र प्रणाली लोकतन्त्रका आधारभूत कुरा तथा ’नम्र्स’ भएकाले यसकै आधारमा अघि बढ्नुपर्ने धारणा राखे । लेखा समिति अन्य निकायजस्तो अख्तियार वा अदालत नभई यसको आफ्नै निश्चित कार्यक्षेत्र रहेकाले सोहीअनुसार स्वाभाविक रूपमा चासो लिइने उल्लेख गरे।
बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विभागीय प्रमुखको हैसियतले प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्ने जिम्मेवारीका साथ आफूले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको बताए।
सार्वजनिक खरिद नियमावली संशोधन अनुसार कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएपछि प्रचलित कानुनी अवस्थाको पालना तथा भविष्यमा आउन सक्ने कानुनी र प्रक्रियागत जटिलतालाई दृष्टिगत गरी उक्त बोलपत्र रद्द गर्ने निर्णय गरिएको उनले उल्लेख गरे। प्रचलित कानुनी व्यवस्थाविपरीत हुने सम्भावना रहेको खरिद प्रक्रिया अघि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्नु निर्णयको मूल उद्देश्य रहेको उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरुले कुनै पनि कारणले आयोजना अलपत्र पार्ने काम गर्न नहुने धारणा राखेका थिए । समिति सदस्य मनिष झाले सात वर्षसम्म परियोजना अन्योलमा रहेको अवस्थामा परियोजना रद्द गरिएमा मधेश आन्दोलनमा उत्रिनुबाहेक अन्य विकल्प नहुने चेतावनी दिए। मधेशमा खेती नै आर्थिक स्रोत रहेकाले त्यसमा खेलबाड वा अल्झाउने काम गर्न नहुने उनले बताए।
त्यस्तै समिति सदस्य खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्र रद्द गर्नुपर्ने तत्कालिन कारणका बारेमा आयोजनाले प्रष्ट पार्नुपर्ने माग गरे । आर्थिक प्रस्ताव नखोलिकनै राज्यलाई दुई–तीन अर्ब घाटा हुने दाबीका बारेमा पनि उनले प्रश्न गरे।
मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द गरिएपछि समितिमा उजुरी परेको थियो ।