; संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलले देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुन आवश्यक नरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा देशहरूले विद्यमान एआई प्रणाली प्रयोग गर्न, खुला मोडेललाई परिमार्जन गर्न वा आफ्नै आवश्यकता अनुसार नयाँ मोडेल विकास गर्न सक्ने उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार एआईको सफलता प्रविधिको स्तरमा मात्र नभई तथ्याङ्क, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत संरचनामा गरिने लगानीमा निर्भर हुन्छ । कुन प्रविधि अपनाउने भन्ने निर्णय देशको आवश्यकता, उपलब्ध स्रोतसाधन र राष्ट्रिय प्राथमिकताका आधारमा गर्नुपर्ने प्यानलको सुझाव छ ।
अत्याधुनिक एआई मोडेलले अर्थतन्त्रको उत्पादकत्वमा कति सुधार ल्याउँछन् भन्ने विषय अझै अध्ययनकै क्रममा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । तर, स्थानीय भाषा, संस्कृति र आवश्यकताअनुसार सीमित उद्देश्यका एआई प्रणाली विकास गरेर पनि यसको लाभ लिन सकिने जनाइएको छ ।
प्यानलले तथ्याङ्क र त्यसको व्यवस्थापनलाई एआई विकासको महत्वपूर्ण आधारका रूपमा औँल्याउँदै यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको जनाएको छ । खुला एआई मोडेल, भाडामा लिइएको कम्प्युटिङ क्षमता र व्यवस्थित स्थानीय तथ्याङ्कको प्रयोगबाट कम खर्चमै स्थानीय आवश्यकताअनुसार एआई विकास गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, एआई प्रयोग गर्दा सम्भावित जोखिम न्यूनीकरण गर्न प्रभावकारी सुरक्षा मापदण्ड र नियमन व्यवस्था आवश्यक रहेकोमा पनि जोड दिइएको छ ।
देशहरूले आफ्नै आवश्यकता र प्राथमिकताअनुसार सार्वभौम एआई क्षमता विकास गर्दै प्रविधिको लाभमा व्यापक सहभागिता जनाउन सक्ने प्यानलको निष्कर्ष छ ।