मुख्य समाचार
द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्
द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्

: भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्। दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार भविष्यको साझेदारीका लागि आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसम्मका १० वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा भएको छलफलपछि संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) सार्वजनिक गरिएको हो। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धको समग्र समीक्षा गर्दै आगामी सहकार्यका प्राथमिकता तय गरिएको छ।

संयुक्त दृष्टिकोणपत्रमा भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ राष्ट्रिय आकाङ्क्षालाई एकअर्काका पूरकका रूपमा प्रस्तुत गरिएको छ। दुवै देशका नागरिक, विशेषगरी युवाका आकाङ्क्षालाई केन्द्रमा राखेर आधुनिक, गतिशील र पारस्परिक लाभमा आधारित साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ।

आर्थिक तथा विकास साझेदारीअन्तर्गत भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरावलोकन, नयाँ पारवहन सुविधा र हवाई मार्ग विस्तार, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना र सूचना प्रविधि पार्क विकासमा सहकार्य गर्ने सहमति भएको छ।

भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। अयोध्या-जनकपुर सीधा रेल सेवा र धार्चुला-दार्चुला महाकाली नदीमाथिको मोटरेबल पुल सञ्चालनमा आएको विषयलाई स्वागत गर्दै जयनगर-बर्दिबास र जोगबनी-विराटनगर रेलमार्गका बाँकी खण्डको निर्माण तीव्र बनाउने सहमति भएको छ। रक्सौल-काठमाडौं रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएकोमा स्वागत गर्दै बर्दिबास-निजगढ र वीरगन्ज-निजगढ खण्डलाई प्राथमिकतामा राखेर पूर्व-पश्चिम रेलमार्ग विकासमा सहकार्य गरिनेछ।

ऊर्जा तथा जलस्रोत क्षेत्रमा भारतले नेपालको जलविद्युत् र प्रसारण पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने भएको छ। पञ्चेश्वर र सप्तकोशी–सुनकोशी बहुउद्देश्यीय परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा विद्युत् व्यापार विस्तार गर्ने विषय पनि सहमतिमा समेटिएको छ। विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र जल तथा मौसमसम्बन्धी तथ्याङ्क वास्तविक समयमा आदानप्रदान गर्ने व्यवस्था गरिनेछ।

सुशासन र प्रविधिको क्षेत्रमा नेपालको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि भारतले प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान गर्नेछ। कृत्रिम बौद्धिकता (एआई), नेपाली भाषाको ठूलो भाषा नमुना विकास, डिजिटल पार्क तथा तथ्याङ्क केन्द्र स्थापनामा सहकार्य गरिनेछ। काठमाडौंमा स्टार्टअप उत्कृष्टता केन्द्र र पोखरामा डिजिटल घुमन्ते तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

शिक्षा तथा सीप विकासतर्फ भारतका प्रतिष्ठित शैक्षिक संस्थाका शाखा नेपालमा स्थापना गर्ने सम्भावना खोजिनेछ। यसको सुरुवात भारतीय प्रविधि संस्थान (आईआईटी) बाट गर्ने प्रस्ताव गरिएको छ। नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्नुका साथै भारतको सहयोगमा व्यावसायिक तालिम संस्था स्थापना गरिनेछ।

खेलकुद क्षेत्रमा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न भारतले सहयोग गर्नेछ। क्रिकेट पूर्वाधार विकास, नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर तथा क्रिकेट, फुटबललगायत खेलका व्यावसायिक लिगमा दुवै देशका खेलाडीलाई सहभागी गराउने सम्भावना खोजिनेछ।

संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि जनकपुर-अयोध्या रामायण सर्किट, लुम्बिनी-बोधगया-सारनाथ-कुशीनगर बौद्ध सर्किट र पशुपतिनाथ-वाराणसी शिव-शक्ति सर्किट विकास गर्ने सहमति भएको छ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गर्ने तथा वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माण, राष्ट्रिय चिकित्सा प्रयोगशालाको स्तरोन्नति र सस्तो तथा गुणस्तरीय औषधिको पहुँच विस्तार गर्न भारत–नेपाल जनऔषधि केन्द्र स्थापना गरिनेछ। कृषि क्षेत्रमा भने भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ। कृषि अनुसन्धान, पशुपालन तथा किसानको क्षमता विकासमा पनि सहकार्य गरिनेछ।

दुई देशबीच भएका सहमति र परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाइनेछ। उक्त समूहले कम्तीमा प्रत्येक छ महिनामा बैठक गरी परियोजनाको प्रगति समीक्षा गर्नेछ।

अनुगमन समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने भारत–नेपाल संयुक्त आयोगमा पेस गर्नेछ। संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने सहमति भएको छ।

यसअघि दुई देशका प्रधानमन्त्रीले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने बताएका थिए। जलस्रोत, ऊर्जा, व्यापार तथा सीमा सम्बन्धी बाँकी विषय पनि आपसी छलफल र संवादबाट समाधान गर्ने सहमति भएको छ।

दुवै प्रधानमन्त्रीले संयुक्त दृष्टिकोणपत्रले दुई मित्रराष्ट्रबीच आधुनिक, महत्त्वाकाङ्क्षी र पारस्परिक लाभमा आधारित साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले ...
: जेनजी आन्दोलनमा भएको घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण गर्न सरकारले अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ। जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिएको स्रोतको दाबी छ। सरकारले औपचारिकरूपमा भने यस विषयमा जानकारी ...
: मंगलबार एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ । बिहान करिब २–३ बजेदेखि चलेको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको शिक्षिका सपना गुरुङले जानकारी दिइन् । हावाहुरीले विद्यालय भवनको जस्तापाता उडाएर लगेको छ । यसका साथै, गाउँका केही कच्ची घर तथा गोठका छानासमेत उडाएको स्थानीय शिक्षिका गुरुङले ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उक्त अवसरमा उपराष्ट्रपति ...
। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेको सरकारले बताएको छ । भ्रमण सकेर प्रधानमन्त्री शाह फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले दुवै देशको सम्बन्ध विस्तार गरेर परिणाममुखी बनाउनेगरी छलफल भएको उनको भनाइ थियो । ‘लामो समयपछि यस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम