। सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधयादेश जारी गर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् ।
जारी भएपछि अध्यादेश ऐन सरह मान्य हुन्छ । २३ र २४ भदौ २०८२ मा जेनजी आन्दोलन भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालयमा रहेको अध्यादेशबाट हाल जेनजी आन्दोलनमा संलग्न भएको भन्दै मुद्दा खेपिरहेकाहरूको माग सम्बोधन गर्न लागिएको हो ।
यसका लागि आयोग बनाउने गरी अध्यादेश सिफारिस गरिएको हो ।
सरकारी अधिकारीहरूका अनुसार अध्यादेश जारी भएपछि जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने, क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने र गम्भिर अपराधबाहेकका मुद्दालाई छिटो तथा व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार गर्नेछ ।