मुख्य समाचार
कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन
कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन

। आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।




छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा सञ्चालित उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा थियो । तर, आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उद्योगको उत्पादन दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ ।

उद्योग सञ्चालक दिनेश पौडेलले तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको बताए । सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ठूलो लगानी जोखिममा परेको उल्लेख गर्दै उनले नेपालमा लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन रहेको बताए ।


उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्था र चिसो मौसमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पौडेलले बताए । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा सीमित हुने गरेको थियो । त्यसमा पनि कोरोना महामारीपछि अर्थतन्त्रमा आएको मन्दीले उद्योगलाई थप संकटमा पारेको थियो ।

भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको थियो । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्टको बिक्री घट्नुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए ।

उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारमा अन्य जिल्लाका उद्योगबाट उत्पादित सिमेन्टमा निर्भर हुनुपर्ने अवस्था आएको छ ।

उद्योग बन्द हुँदा स्थानीय अर्थतन्त्र प्रभावित



निगाले सिमेन्ट बन्द हुनु सञ्चालकको व्यावसायिक समस्यामा मात्र सीमित छैन । उद्योग बन्द भएपछि त्यहाँ प्रत्यक्ष काम गर्ने मजदुर र प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी तथा उद्योगमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन् ।

कोरोना महामारीपछि देशभर देखिएको आर्थिक संकटको असर धनकुटाका साना तथा मझौला उद्योगमा समेत परेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम रायमाझीले बताए । यही कारण निगाले सिमेन्टलगायत उद्योग बन्द हुने क्रम बढेको उनको भनाइ छ ।

उद्योग पुनः सञ्चालनका लागि समस्याको पहिचान गरी आवश्यक पहल गर्ने संघको तयारी रहेको रायमाझीले जानकारी दिए । स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या वा कच्चा पदार्थ आपूर्तिसम्बन्धी कठिनाइ भए त्यसको समाधानका लागि पहल गर्न सकिने उनले बताए । तर, समस्या उद्योग सञ्चालककै आन्तरिक कारणसँग सम्बन्धित भए संघले प्रत्यक्ष रूपमा समाधान गर्न नसक्ने उनको भनाइ छ ।

तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारी पक्षबाट ठोस प्रयास हुन नसकेको रायमाझीले बताए ।

छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले भने उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको बताए । आन्तरिक कारणले बन्द भएकाले गाउँपालिकाले कुनै पहल गर्न नसकेको उनको भनाइ छ । उद्योग बन्द हुनुको वास्तविक कारण स्थानीयस्तरको समस्या हो वा अन्य कारण भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए ।

उद्योग बन्द भएपछि स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो असर परेको सुब्बाले बताए । उद्योगमा कार्यरत मजदुर, प्राविधिक कर्मचारी, ढुवानी व्यवसायी तथा उद्योगसँग जोडिएका स्थानीय पसल र व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।

विद्युत्को १६ करोड र गाउँपालिकाको २२ लाख बक्यौता

उद्योगको आर्थिक संकटसँगै विद्युत् महसुल र गाउँपालिकालाई बुझाउनुपर्ने रकमको बक्यौतासमेत बढेको छ ।

नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख ८ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी छ । समयमै महसुल भुक्तानी नगर्दा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए । ठूलो रकमको विद्युत् महसुल बक्यौता पनि उद्योग पुनः सञ्चालनका लागि चुनौती बनेको छ ।

त्यस्तै, उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले गाउँपालिकालाई बुझाउने सहमति भएको थियो । सुरुका वर्षमा उद्योगले गाउँपालिकालाई रकम बुझाए पनि पछिल्लो समय भुक्तानी नगर्दा करिब २२ लाख रुपैयाँ बक्यौता रहेको गाउँपालिका अध्यक्ष सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ। ‎ ‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो। ‎ ‎संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‎ ‎यसअघि ...
। वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । वैदेशिक रोजगार विभागले पहिलो चरणमा १ हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । विभागले ९ कात्तिकमा सार्वजनिक सूचना जारी ...
। प्रधानमन्त्री बनेपछि बालेन शाहले पहिलो अन्तर्राष्ट्रिय भ्रमण न्युयोर्कमा गरे पनि औपचारिक भ्रमण भने दक्षिण छिमेकी भारतमा गरेका छन् । यो बहुप्रतीक्षित भ्रमणको तयारी करिब तीन महिना चलेको अनलाइनखबरले कूटनीतिक सूत्रबाट जानकारी प्राप्त गरेको छ । ‘अन्तिम घडीसम्म पनि भ्रमण नै हुँदैन कि भन्ने थियो, तर सम्भव भएको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘केही एजेन्डा भने ...
। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ...
। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा यस सम्बन्धमा उजुरी परेको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको हो । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि ...