मुख्य समाचार
कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिए
कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिए

। संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ ।

सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र न्यायपूर्ण संक्रमणसम्बन्धी केही प्रक्रियागत निर्णय भए पनि समग्र राजनीतिक प्रतिबद्धता समेट्ने मुख्य कभर डिसिजनमा सहमति जुट्न सकेन ।




जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको लक्ष्यअनुरूप कार्ययोजना र जलवायु न्यायका विषयमा विश्वका सरकारहरू साझा निष्कर्षमा पुग्न सकेनन् । जलवायु संकटको प्रभाव तीव्र हुँदै गएको र जोखिममा रहेका देशहरूले ठोस कदमको माग गरिरहेका बेला सम्पन्न सम्मेलनले अपेक्षित राजनीतिक प्रतिबद्धता जुटाउन सकेन ।

जलवायु संकटबाट बढी प्रभावित विकासशील देशहरूले अनुदानमा आधारित सार्वजनिक वित्त, पर्याप्त स्रोतसहितको न्यायपूर्ण संक्रमण संयन्त्र र नवीकरणीय ऊर्जातर्फ रूपान्तरणको स्पष्ट योजना माग गर्दै आएका छन् । तर कोप–३१ ले ती मागलाई ठोस निर्णयमा परिणत गर्न सकेन ।


नेपालजस्ता जलवायु जोखिममा रहेका देशलाई विपद् प्रभावित समुदायको पुन:स्थापना, पुनर्निर्माण, जलवायु अनुकूलन र जोखिम न्यूनीकरणका लागि ठूलो आर्थिक स्रोत आवश्यक छ । सार्वजनिक जलवायु वित्तको सुनिश्चितता नहुँदा यस्ता देश बहुपक्षीय विकास बैंक तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिन बाध्य हुने जोखिम बढ्दै गएको छ । जलवायु संकटको सामना गर्न थप ऋण लिनुपर्ने अवस्थाले विकासशील देशको आर्थिक संकटलाई अझ गहिरो बनाउन सक्छ ।

जलवायु संकटको जिम्मेवारी र त्यसको असर भोग्ने देशबीचको असमानता सम्बोधन गर्नुपर्ने माग यसपटक पनि कमजोर सम्बोधनमा सीमित भयो । ऐतिहासिक रूपमा बढी उत्सर्जन गरेका विकसित देशले वित्तीय जिम्मेवारी पूरा नगर्दा जलवायु संकटको भार आर्थिक रूपमा कमजोर देशमाथि थपिने अवस्था कायम छ ।

विकसित देशको असहमतिले पहिलोपटक मुख्य कभर डिसिजन रोकियो

ग्लास्गोमा सम्पन्न कोप–२६ देखि सम्मेलनका समग्र राजनीतिक प्रतिबद्धता समेट्ने कभर डिसिजनमा सहमति कायम गर्ने अभ्यास हुँदै आएको थियो । यसपटक भने मुख्य कभर डिसिजन नै पारित हुन सकेन ।

कोपमा औपचारिक एजेण्डामा समेटिएका विषयबाहेक सम्मेलनका प्रमुख राजनीतिक मुद्दामा साझा प्रतिबद्धता कायम गर्न अध्यक्षले सबै देशलाई सहमतिमा ल्याएर कभर डिसिजन तयार गर्ने अभ्यास हुन्छ । तर कोप–३१ मा जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त र उत्सर्जन न्यूनीकरणसम्बन्धी विषयमा मतभेद कायम रहेपछि मुख्य राजनीतिक निर्णय अघि बढ्न सकेन ।

यसअघि मुख्य निर्णयमा सहमति जुटाउन समस्या देखिँदा विकासशील देशको असहमतिका कारण वार्ता प्रभावित हुने गरेको थियो । यसपटक भने विकसित देशहरूको असहमतिले सम्मेलनको मुख्य निर्णय प्रभावित भयो ।

अध्यक्षले प्रस्ताव गरेको कभर डिसिजनमा जीवाश्म इन्धनको प्रयोगबाट संक्रमणको स्पष्ट उल्लेख नभएको भन्दै युरोपेली संघ (ईयू), बेलायत, जर्मनी, नर्वे, पनामा, बेलिज, मार्सल आइल्यान्ड्स र भानुआतु लगायतले मस्यौदा अस्वीकार गरे ।

उनीहरूको मुख्य असहमति मस्यौदामा कोइला, तेल र ग्यासबाट संक्रमणको स्पष्ट मार्गचित्र नहुनु, पेरिस सम्झौताको १.५ डिग्री तापक्रम लक्ष्यअनुरूप विज्ञानमा आधारित कार्ययोजना नआउनु र विकासशील देशका लागि जलवायु वित्तको ठोस प्रतिबद्धता नहुनु थियो ।

ईयूले जीवाश्म इन्धनको उल्लेखै नभएको निर्णय स्वीकार गर्न नसकिने बताएको थियो । पनामा र मार्सल आइल्यान्ड्सले कार्बन क्याप्चरजस्ता प्रविधिमा निर्भर भएर जीवाश्म इन्धनको निरन्तर प्रयोगलाई वैधता दिन खोजिएको भन्दै आपत्ति जनाए ।

नर्वे, बेलायत र अति कम विकसित देशहरूको समूह (एलडीसी) ले विगतका सहमति कमजोर पार्न नहुने र विज्ञानले मागेका कदमबाट पछि हट्न नहुने अडान राखेका थिए ।

उनीहरूको विरोध शब्दावलीमा मात्रै सीमित थिएन । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, अनुकूलन वित्तको सुनिश्चितता र जलवायु संकटको जिम्मेवारीअनुसार न्यायपूर्ण कार्यको माग थियो ।



मुख्य कभर डिसिजनमा सहमति नजुटेपछि विश्व वातावरण सुविधा (जीईएफ) सम्बन्धी निर्णयसमेत अघि बढ्न सकेन । नेपालले प्रस्तुत गरेको पर्वतीय एजेण्डालाई छुट्टै निर्णयका रूपमा स्थापित गर्ने प्रयास पनि मुख्य निर्णयसँगै अड्कियो । यद्यपि बोन सेसनमा आगामी दुई वर्ष माउन्टेन वर्कसप सञ्चालन गर्ने विषयमा पहिलो दिन नै निर्णय भइसकेको थियो ।

जलवायु वित्त, विशेषगरी अनुकूलनका लागि वित्त बढाउने, त्यसको सुनिश्चित आधार तय गर्ने र विकसित देशको वित्तीय जिम्मेवारी स्पष्ट गर्ने विषयमा मतभेद कायम रह्यो । जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानीलाई सम्बोधन गर्न छुट्टै प्राथमिकता, ठोस कार्ययोजना र थप वित्तीय प्रतिबद्धता सुनिश्चित गर्ने विषयमा पनि अपेक्षित निर्णय हुन सकेन ।

जीवाश्म इन्धनको उल्लेख हटेपछि ईयूको असहमति

सम्मेलनको अन्तिम चरणमा ईयूले प्रस्तावित सम्झौताप्रति औपचारिक असहमति जनायो । ईयूको मुख्य आपत्ति अन्तिम मस्यौदामा जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र नसमेटिनु थियो ।

आयरल्यान्डका जलवायु मन्त्री ड्याराग ओ’ब्रायनले ईयूका तर्फबाट अन्तिम पूर्ण बैठकमा सम्झौताप्रति असहमति व्यक्त गरेका थिए । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट योजना, जलवायु वित्तमा ठोस प्रतिबद्धता र पेरिस सम्झौताको तापक्रम लक्ष्यअनुरूप कार्ययोजना नआएको भन्दै ईयूले मस्यौदा स्वीकार गर्न नसकिने बताएको थियो ।

जीवाश्म इन्धनको उल्लेख नभएको कमजोर सम्झौताको विरोध गरे पनि जलवायु न्याय र विकासशील देशको आर्थिक आवश्यकताका विषयमा ईयूको आफ्नै भूमिका विरोधाभासपूर्ण रहेको उनीहरूको आलोचना छ ।
सन् २०१५ मा भएको पेरिस सम्झौताले विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर देशहरूले गरेका उत्सर्जन कटौतीका प्रतिबद्धता र वैज्ञानिक अध्ययनले आवश्यक ठानेको कटौतीबीच ठूलो अन्तर छ ।

ईयूको भनाइमा कोप–३१ ले यही अन्तर घटाउने प्रभावकारी बाटो देखाउन सकेन । जीवाश्म इन्धनको उल्लेख हटाइनु, कार्यान्वयनका लागि पर्याप्त प्रतिबद्धता नहुनु र जलवायु विज्ञानले देखाएको आवश्यकतालाई सम्बोधन गर्न नसक्नुले सम्झौता कमजोर बनेको उसको तर्क थियो ।

तर ईयूको विरोधलाई सबै जलवायु अभियन्ताले पूर्ण रूपमा स्वागत गरेका छैनन् । जलवायु अभियानकर्मीहरूले ईयू आफैंले पनि सम्मेलनका कतिपय महत्त्वपूर्ण विषयमा प्रगति रोक्न भूमिका खेलेको आरोप लगाएका छन् । विशेषगरी न्यायपूर्ण ऊर्जा परिवर्तन र जलवायु अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा ईयूको अडानमाथि प्रश्न उठाइएको छ ।

जीवाश्म इन्धनको उल्लेख नभएको कमजोर सम्झौताको विरोध गरे पनि जलवायु न्याय र विकासशील देशको आर्थिक आवश्यकताका विषयमा ईयूको आफ्नै भूमिका विरोधाभासपूर्ण रहेको उनीहरूको आलोचना छ ।

तेल उत्पादन नियन्त्रणबिना जलवायु सम्झौता स्वीकार्य छैन : पानामा

ईयूको तुलनामा पानामाले जीवाश्म इन्धनको विषयलाई अझ स्पष्ट रूपमा उठाएको थियो । पानामाका वातावरणमन्त्री जुआन कार्लोस नाभारोले सम्मेलनको नेतृत्व गरिरहेका टर्की र अस्ट्रेलियाका प्रतिनिधिहरूसमक्ष असहमति व्यक्त गरेका थिए ।

पानामाको मुख्य माग जीवाश्म इन्धनको उत्पादन र प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धता थियो । जलवायु सम्झौतामा तेल उत्पादन नियन्त्रण र जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट उल्लेख हुनुपर्ने उसको अडान थियो ।

जलवायु परिवर्तनको प्रमुख कारण जीवाश्म इन्धन हो भने यसको समाधान उत्सर्जन घटाउने सामान्य प्रतिबद्धतामा मात्र सीमित हुन नहुने पानामाको तर्क थियो । कोइला, तेल र ग्यासको उत्पादन तथा प्रयोगबाट कहिलेसम्म बाहिरिने भन्ने विषय अन्तर्राष्ट्रिय सम्झौतामा स्पष्ट गरिनुपर्ने उसको माग थियो ।

दुबईमा सम्पन्न कोप–२८ ले जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने निर्णय गरेको थियो । त्यसलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको थियो । तर कोप–३१ को मस्यौदामा त्यही विषय हटाइएपछि असन्तुष्टि चुलिएको हो ।

पानामाका वातावरणमन्त्री नाभारोले जलवायु वार्तालाई पेट्रोलियम माफियाले बन्धक बनाएको आरोप लगाएका थिए ।

जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूसँग बाढी, खडेरी, समुद्री सतह वृद्धि र अन्य विपत्तिसँग जुध्न पर्याप्त स्रोत नभएको भन्दै पानामाले धनी देशहरूबाट आर्थिक सहयोगको स्पष्ट प्रतिबद्धता माग गरेको थियो । सम्झौतामा सहभागी नहुने भन्दै पानामाले औपचारिक असहमति जनायो ।

नागरिक समाजको असन्तुष्टि : जीवाश्म इन्धन उद्योगलाई संरक्षण

विश्वका २ हजार ५ सयभन्दा बढी नागरिक समाज संस्थाको प्रतिनिधित्व गर्ने क्लाइमेट एक्सन नेटवर्क (क्यान) ले पनि अन्तिम मस्यौदाप्रति कडा असन्तुष्टि जनाएको थियो ।

जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट बाटो नदेखाउनु, विकासशील देशलाई आवश्यक आर्थिक सहायता सुनिश्चित नगर्नु र न्यायपूर्ण ऊर्जा परिवर्तनलाई प्रभावकारी रूपमा अघि नबढाउनु सम्झौताका प्रमुख कमजोरी भएको क्यानको आलोचना थियो ।



कार्बन क्याप्चर तथा स्टोरेज र कार्बन डाइअक्साइड रिमुभलजस्ता प्रविधिलाई अनुचित महत्त्व दिइएको भन्दै पनि क्यानले आलोचना गरेको थियो । यी प्रविधिले उद्योगबाट निस्कने कार्बन डाइअक्साइडलाई संकलन तथा भण्डारण गर्ने वा वायुमण्डलबाट हटाउने उद्देश्य राख्छन् । तर तिनको वास्तविक प्रभावकारिता, लागत, विस्तार र जीवाश्म इन्धनको निरन्तर प्रयोगलाई औचित्य दिने सम्भावनाबारे विवाद छ ।

सम्झौताले जलवायु संकट समाधानभन्दा जीवाश्म इन्धन उद्योगका हितलाई बढी संरक्षण गरेको भन्दै क्यानले अन्तिम मस्यौदालाई अस्ट्रेलियाको अध्यक्षताबाट ग्यास उद्योगलाई दिइएको उपहारका रूपमा चित्रण गरेको थियो ।

खुम्चियो लैङ्गिक प्रतिबद्धता

लैङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी निर्णयले पनि गम्भीर प्रश्न उठाएको छ । कार्यान्वयनमुखी सम्मेलनका रूपमा पहिचान बनाउन खोजेको कोप–३१ ले महिला सहभागिता र लैङ्गिक उत्तरदायी जलवायु कार्ययोजनाका विषयमा अपेक्षित प्रतिबद्धता देखाउन सकेन ।

बाकुमा सम्पन्न कोपमा लैङ्गिक समानता, महिला सशक्तीकरण, जलवायु वित्त, निर्णय प्रक्रियामा सहभागिता र संस्थागत जवाफदेहितालाई जोड दिइएको थियो । त्यसपछि बेलेम लैङ्गिक कार्ययोजनाको कार्यान्वयनका लागि थप सहयोग आवश्यक रहेको स्वीकार गरिएको थियो ।

पछिल्लो सम्मेलन भने विगतका प्रयासको प्रशंसा गर्ने र कार्ययोजनाको कार्यान्वयनका लागि थप सहयोग आवश्यक रहेको स्वीकार गर्ने प्रक्रियामै सीमित बन्यो । निर्णय प्रक्रियामा महिलाको पूर्ण, अर्थपूर्ण र समान सहभागिताको महत्त्वलाई जोड दिइए पनि नयाँ लक्ष्य, समयसीमा वा स्पष्ट कार्यान्वयन योजना आएन ।

विश्व अर्थतन्त्रलाई कोइला, तेल र ग्यासमा आधारित प्रणालीबाट नवीकरणीय ऊर्जातर्फ लैजानु जलवायु संकट समाधानको महत्त्वपूर्ण कदम हो । तर यो परिवर्तन गर्दा जीवाश्म इन्धन उद्योगमा निर्भर श्रमिक, स्थानीय समुदाय र कमजोर आर्थिक अवस्थाका मानिस प्रभावित हुन सक्छन् ।
जलवायु वित्तमा महिलाको प्रत्यक्ष पहुँच सुनिश्चित नगरी लैङ्गिक न्याय सम्भव छैन । विशेषगरी ग्रामीण, आदिवासी र जलवायु जोखिममा रहेका समुदायका महिलाका लागि छुट्टै वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने आवाज उठिरहेका बेला पाँच बुँदे निष्कर्षले कुनै निश्चित वित्तीय रकम, महिला लक्षित वित्तीय संयन्त्र वा अनुगमनयोग्य लक्ष्य तोक्न सकेन । विकासशील देशलाई थप सहयोग आवश्यक रहेको सामान्य प्रतिबद्धता मात्र दोहोर्‍याइयो ।

हिमाली क्षेत्रबाट उद्गम भएका जलवायुजन्य विपद्को असर महिलामाथि समेत बढी पर्ने भएकाले नेपालका लागि हिमाली क्षेत्रका महिलाको जलवायु न्याय विशेष महत्त्वको विषय हो । नेपालले अन्ताल्याको वार्तामा हिमाली मुद्दामा केन्द्रित प्रस्ताव भुटानसँग मिलेर दर्ता गराएको थियो ।

मंगोलियाले दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाले भोग्ने विशेष चुनौतीलाई सम्बोधन गर्ने छुट्टै अनुच्छेद प्रस्ताव गरेको थियो । तर अन्तिम पाँच बुँदे निष्कर्षमा उक्त विषय समेटिएन ।

न्यायपूर्ण ऊर्जा परिवर्तनमा श्रमिक र समुदायको सुरक्षा कसले गर्ने ?

विश्व अर्थतन्त्रलाई कोइला, तेल र ग्यासमा आधारित प्रणालीबाट नवीकरणीय ऊर्जातर्फ लैजानु जलवायु संकट समाधानको महत्त्वपूर्ण कदम हो । तर यो परिवर्तन गर्दा जीवाश्म इन्धन उद्योगमा निर्भर श्रमिक, स्थानीय समुदाय र कमजोर आर्थिक अवस्थाका मानिस प्रभावित हुन सक्छन् ।

न्यायपूर्ण ऊर्जा परिवर्तनले प्रभावित श्रमिकलाई वैकल्पिक रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र नयाँ आर्थिक अवसर उपलब्ध गराउनुपर्छ । नवीकरणीय ऊर्जाको विस्तारबाट सिर्जना हुने रोजगारीमा स्थानीय समुदायको पहुँच सुनिश्चित हुनुपर्छ ।

तर कोप–३१ ले न्यायपूर्ण ऊर्जा परिवर्तनका लागि आवश्यक आर्थिक स्रोत, सामाजिक सुरक्षा र कार्यान्वयन संयन्त्रलाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेन ।

जलवायु परिवर्तन रोक्ने प्रयास र त्यसको असरबाट जोगिने प्रयास फरक विषय हुन् । उत्सर्जन घटाउनु जलवायु परिवर्तन न्यूनीकरण हो भने बाढी, पहिरो, खडेरी, तापलहर र समुद्री सतह वृद्धिका असरबाट समुदायलाई सुरक्षित राख्नु अनुकूलन हो ।

विकासशील देशका लागि अनुकूलन अत्यन्त महत्त्वपूर्ण छ । किनभने उनीहरूसँग जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक र प्राविधिक स्रोत सीमित छन् । क्यानले धनी देशहरूले अनुकूलनका लागि उपलब्ध गराउने आर्थिक सहायता उल्लेखनीय रूपमा बढाउनुपर्ने माग गरेको छ । सन् २०३५ सम्म वार्षिक कम्तीमा १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्वसनीय योजना आवश्यक रहेको उसको माग छ ।

जलवायु वार्ताको अर्को संवेदनशील विषय जलवायु परिवर्तनका कारण भइसकेको क्षति र नोक्सानी हो । उत्सर्जन घटाउन प्रयास गरे पनि जलवायु परिवर्तनको असरबाट पूर्ण रूपमा जोगिन सकिँदैन । बाढी, आँधी, खडेरी, हिमताल विस्फोट र समुद्री सतह वृद्धिले ठूलो जनधनको क्षति गराउन सक्छ ।

यस्तो क्षतिपछि पुनर्निर्माण र प्रभावित समुदायको पुन:स्थापनाका लागि आर्थिक सहायता आवश्यक हुन्छ । यही अवधारणालाई क्षति तथा नोक्सानी वित्त भनिन्छ ।

विकासशील देशहरूको माग जलवायु परिवर्तनमा ऐतिहासिक रूपमा बढी योगदान गरेका धनी देशहरूले प्रभावित राष्ट्रलाई पर्याप्त सहायता उपलब्ध गराउनुपर्छ भन्ने हो । यस्तो सहायता ऋणका रूपमा नभई अनुदान हुनुपर्ने उनीहरूको अडान छ । जलवायु परिवर्तनको क्षति भोगेका देशलाई थप ऋणको बोझ थोपर्नु अर्को अन्याय हुने उनीहरूको तर्क छ ।

प्रतिबद्धता कार्यान्वयनको कोप पश्चगमनतर्फ

सहमति हुनु मात्रै सफलता होइन, त्यसले के परिवर्तन गर्छ भन्ने मुख्य प्रश्न हो । कोप–३१ को अन्तिम चरणमा देखिएको विवादले अन्तर्राष्ट्रिय जलवायु वार्ताको आधारभूत समस्या फेरि उजागर गरेको छ । विश्वका सरकारहरू जलवायु संकटको गम्भीरता स्वीकार गर्छन्, तर त्यसको समाधानका लागि आवश्यक राजनीतिक निर्णय, आर्थिक प्रतिबद्धता र कार्यान्वयनमा एकमत छैनन् ।

जलवायु न्यायको अर्थ सबै देशले एउटै जिम्मेवारी लिनु होइन । ऐतिहासिक रूपमा बढी प्रदूषण गरेका र आर्थिक रूपमा सक्षम देशहरूले बढी जिम्मेवारी लिनु, जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशलाई आवश्यक स्रोत उपलब्ध गराउनु र ऊर्जा परिवर्तनको भार श्रमिक तथा गरिब समुदायमाथि नथोपर्नु नै यसको मूल मर्म हो ।

कोप–३१ को विवादले यही प्रश्नलाई विश्व जलवायु राजनीतिमा फेरि केन्द्रमा ल्याएको छ । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, जलवायु वित्तको सुनिश्चितता र जलवायु संकटबाट प्रभावित देशलाई न्यायपूर्ण सहयोग गर्ने प्रतिबद्धताबिना जलवायु सम्मेलनका निर्णय औपचारिक घोषणामा सीमित हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बनेपछि बालेन शाहले पहिलो अन्तर्राष्ट्रिय भ्रमण न्युयोर्कमा गरे पनि औपचारिक भ्रमण भने दक्षिण छिमेकी भारतमा गरेका छन् । यो बहुप्रतीक्षित भ्रमणको तयारी करिब तीन महिना चलेको अनलाइनखबरले कूटनीतिक सूत्रबाट जानकारी प्राप्त गरेको छ । ‘अन्तिम घडीसम्म पनि भ्रमण नै हुँदैन कि भन्ने थियो, तर सम्भव भएको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘केही एजेन्डा भने ...
। आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी ...
। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ...
। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा यस सम्बन्धमा उजुरी परेको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको हो । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि ...
। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी ...