: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले जनताले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीप्रति गरेको जिकिर गरे। उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकको रूपान्तरण र परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए।
कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी नेकपाको काँधमा रहेको उल्लेख गर्दै उनले राष्ट्रियता, जनअधिकारको रक्षा, जनसमस्या उजागर र समाज रूपान्तरणमा कम्युनिस्टहरूले मुख्य भूमिका खेल्नुपर्ने बताए। नेपालले स्थानीय तहको चुनावको तयारी गर्दा नेकपा नेतृत्वको तीनै तहका सरकारले गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने धारणा राखे।
अन्याय, अत्याचार, भेदभाव, पछौटेपन तथा विभिन्न समस्यामा जेलिएका जनताको अभिभावक र आवाज बनेर मुखरित हुनुपर्ने उनको भनाइ छ।