मुख्य समाचार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु हुनुअघि करिब ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार खेलस्थल, प्रकाश व्यवस्थापन, खेल सामग्री र खेलाडीको पोसाकको व्यवस्था मिलाउने काम भइरहेको छ । केही खेलस्थलमा सामान्य मर्मतसम्भार र प्राविधिक काम बाँकी रहे पनि तोकिएको समयभित्र सक्ने सरकारको योजना छ ।

‘अहिले तयारीका अधिकांश काम अघि बढिसकेका छन् । बाँकी काम पनि तोकिएको समयभित्र पूरा गर्ने लक्ष्य छ । सात दिनभित्र तयारीलाई ९० प्रतिशतसम्म पुर्‍याउँछौँ,’ मुख्यमन्त्री शाहीले भने ।

३२ खेल, सात जिल्लामा प्रतिस्पर्धा


दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल विधाका प्रतिस्पर्धा हुने कार्यक्रम छ । खेलहरू कर्णालीका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशका केही जिल्लामा सञ्चालन हुनेछन् ।

सुर्खेतमा सबैभन्दा बढी २३ खेल गर्ने तयारी छ । सल्यान, नेपालगञ्ज र बर्दियामा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल हुनेछन् ।

विभिन्न जिल्लामा खेल गर्दा खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको आवास, यातायात, भोजन र प्राविधिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका लागि सम्बन्धित जिल्लाका स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए ।

खेलस्थलमा आवश्यक पूर्वाधार भए पनि केही स्थानमा प्रकाश व्यवस्थापन, मर्मतसम्भार र अन्य प्राविधिक काम बाँकी छन् ।

खेल सामग्री र पोसाक व्यवस्थापन

राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खेलस्थल तयार पार्नु मात्र पर्याप्त हुँदैन । खेलाडीको पोसाक, खेल सामग्री, प्राविधिक जनशक्ति र निर्णायकको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मुख्यमन्त्री शाहीका अनुसार खेलाडीको पोसाकदेखि खेल सामग्रीसम्मको व्यवस्थापन भइरहेको छ। सामग्री खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ ।

सहभागी खेलाडीलाई समयमै सामग्री उपलब्ध गराउने र खेल सञ्चालनमा अवरोध नहुने गरी तयारी भइरहेको उनको भनाइ छ ।

सुरक्षा र स्वास्थ्य सेवा

देशभरबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शक सहभागी हुने भएकाले सुरक्षा व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो । सुरक्षा निकायसँग समन्वय भइरहेको छ। सुरक्षा समन्वय बैठकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने र १५ खेलस्थलमा सीसीटीभी निगरानी राख्ने तयारीबारे जानकारी दिइएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, आकस्मिक उपचारको व्यवस्था मिलाउने र खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको छ । मुख्यमन्त्री शाहीले सुरक्षा निकाय, स्वास्थ्य संस्था र सम्बन्धित सबै निकायबीच समन्वय भइरहेको बताए ।

मंसिर १६ मा उद्घाटन, स्थानीय तहको पनि सहयोग

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुने कार्यक्रम छ । केही खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुने तयारी छ ।

उद्घाटन समारोहलाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, कर्मचारी, स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए । स्थानीय तह तथा अन्य संस्थाले प्रवेशद्वार निर्माणलगायतका काममा सहयोग गर्ने तयारी गरेका छन् ।

प्रदेश सरकारले समारोहमा सहभागी हुने अतिथि, खेलाडी, कर्मचारी र दर्शकको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ ।

कर्णालीको अर्थतन्त्रमा अवसर

यो प्रतियोगिता कर्णालीका लागि खेलकुद प्रतिस्पर्धा मात्र नभई आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्ने अवसर पनि हो ।

देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक र दर्शक आउने भएकाले होटल, यातायात, रेस्टुरेन्ट, खाद्यान्नलगायतका व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री शाहीले पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘यस्तो ठूलो प्रतियोगिता आयोजना हुँदा प्रदेशमा आर्थिक गतिविधि बढ्छ । होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ। कर्णालीलाई चिनाउने अवसर पनि हो,’ उनले भने ।

प्रतियोगितापछि पूर्वाधारको उपयोग मुख्य चुनौती

राष्ट्रिय खेलकुदका लागि बनाइएका खेल संरचना प्रतियोगितापछि कसरी उपयोग हुन्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

यी पूर्वाधारलाई नियमित प्रशिक्षण, स्थानीय प्रतियोगिता र राष्ट्रिय स्तरका अन्य खेल आयोजनामा प्रयोग गर्न सके मात्र प्रदेशले दीर्घकालीन लाभ लिन सक्छ । मुख्यमन्त्री शाहीले भविष्यमा कर्णालीमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने आधार तयार भएको बताएका छन् ।

तर त्यसका लागि संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार, दक्ष प्रशिक्षकको उपलब्धता र खेलाडी उत्पादनमा निरन्तर लगानी आवश्यक हुन्छ ।

कर्णालीकै खेलाडी उत्पादन र पदकको चुनौती

कर्णालीका खेलाडीलाई जिल्लास्तरबाट छनोट गर्दै प्रदेश र राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, खेल सामग्री र प्रोत्साहन पाए कर्णालीले राष्ट्रिय स्तरमा उपस्थिति बलियो बनाउन सक्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक ...
। नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १२औं ओभरमा २६ रनमा अलआउट भयो । नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्। उनले विज्ञप्तिमार्फत भनेका छन्,‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ । उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् । शुक्रबार ...
। कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैँ छ भने भारत ए को कप्तान तिलक वर्मा छन् । भारतको टोलीमा वैभव सूर्यवंशी, अभिषेक ...