इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले आफ्नो देश कुनै पनि सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरान युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पारे । अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्ने नभए युद्धमैदानबाटै विवादको टुङ्गो लाग्ने उनको भनाइ छ ।
मोहेबीले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता थप विस्तार भएको दाबी गरेका छन् । इरानले हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उनले बताए । ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उनको दाबी छ ।
इरानले चार हजार ५०० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र क्षमता प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनले आवश्यक परे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्न सक्ने चेतावनी दिए ।
उनका अनुसार इरानले अमेरिकी सैनिक तैनाथी, सैन्य विमानको गतिविधि र सम्भावित सैन्य योजनामाथि निरन्तर निगरानी गरिरहेको छ । अमेरिकी सेनाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको पनि उनले बताए ।
‘हाम्रोविरुद्ध शत्रुले जस्तोसुकै कारबाही गरे पनि त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ’, मोहेबीले चेतावनी दिँदै भने ।
इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उनले बताएका छन् । इरानका बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि जवाफ दिने उनको भनाइ छ ।
यसैगरी, अमेरिकाले स्थल आक्रमण वा हेलिकप्टरमार्फत सैन्य कारबाही गर्ने सम्भावनालाई समेत इरानले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र र ड्रोनमार्फत लक्षित गरेको थियो ।
अप्रिल ८ मा युद्धविराम लागू भए पनि आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी अन्तिम सम्झौताका लागि भएका वार्तामा अपेक्षित प्रगति हुन सकेको छैन । यही कारण इरान र अमेरिकाबीचको सम्बन्धमा तनाव कायमै रहेको छ ।
इरानले अहिलेको अवस्थालाई स्थायी शान्तिका रूपमा नलिएको स्पष्ट पारेको छ । अमेरिकाले आफ्ना सर्त स्वीकार नगरे क्षेत्रीय द्वन्द्व पुनः चर्किन सक्ने संकेतसमेत इरानी सैन्य अधिकारीको चेतावनीले दिएको छ ।