: चन्द्रागिरि नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कञ्चनपुरको बेलौरी निवासी करिब २५ वर्षीय चालक रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने करिब ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्याएको थियो । उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे चालक चौधरीलाई मृत घोषणा गरेका हुन् ।
पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल साँझ ७ः३५ बजे घटनास्थलबाट निकालेर प्रहरी प्रभाग मातातीर्थमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।