: अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो ।
क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा कारोबार सुरु हुँदा प्रतिकित्ता सेयर मूल्य १११.५० डलर पुगेको थियो । कारोबारका क्रममा ११५ डलरसम्म पुगेको सेयर पहिलो दिन १७ प्रतिशतले बढेर ९७.१७ डलरमा बन्द भएको थियो । तर शुक्रबार घटेर एक समय ८५ डलर आसपास पुगेको थियो । कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ८३ डलर थियो ।
एन्थ्रोपिकको सेयरमा आएको गिरावटसँगै अमेरिकी तथा विश्वका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको बिबिसिमा उल्लेख छ । शुक्रबार दिउँसोसम्म अमेरिकी एस एन्ड पी ५०० सूचक करिब २.८ प्रतिशत र डाउ जोन्स एक प्रतिशतभन्दा बढीले घटेका थिए । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक सूचकमा चार प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।
यस अवधिमा एनभिडियाको सेयर ११ प्रतिशतभन्दा बढीले घटेको थियो । त्यस्तै, टेस्ला र स्पेसएक्ससँग सम्बन्धित सेयरमा ६ प्रतिशतभन्दा बढी, मेटामा पाँच प्रतिशतभन्दा बढी र अमेजनमा साढे तीन प्रतिशतभन्दा बढी गिरावट देखिएको थियो ।
प्रविधि क्षेत्रमा भइरहेको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन नसक्ने आशङ्काले लगानीकर्तामा चिन्ता बढाएको विश्लेषकहरूको भनाइ छ । पछिल्लो एक वर्षमा केही ठूला प्रविधि कम्पनीले एआई क्षेत्रमा मात्रै एक ट्रिलियन डलरभन्दा बढी लगानी गरेका छन् । यसले एआई क्षेत्रमा वित्तीय ‘बबल’ बन्न सक्ने जोखिमबारे बहस बढाएको छ ।
बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताले अहिले एआई प्रविधिको सम्भावनाभन्दा पनि कम्पनीहरूको वास्तविक आम्दानी, नगद प्रवाह र नाफा कमाउने क्षमतामा बढी ध्यान दिन थालेका छन् ।
युरोपका प्रमुख सेयर बजारमा पनि गिरावट आएको छ । जर्मनीको ड्याक्स सूचक २.६ प्रतिशत, फ्रान्सको क्याक ४० सूचक १.९ प्रतिशत र बेलायतको एफटीएसई १०० सूचक एक प्रतिशतले घटेर बन्द भएका छन् ।
त्यस्तै, एसियाली बजारमा पनि ठूलो गिरावट देखिएको छ । दक्षिण कोरियाको कोस्पी र जापानको निक्केई २२५ सूचक करिब पाँच प्रतिशतले घटेका छन् । ताइवानको सेयर बजार करिब ६ प्रतिशतले घट्दा सन् १९९० यताकै ठूलो साप्ताहिक गिरावटमध्ये एक भएको समाचारमा उल्लेख छ ।