: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका एजेन्डा र कार्यतालिका तय भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, दिल्ली ओर्लिएकै दिन मंसिर ६ मा प्रधानमन्त्री शाहको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता हुनेछ। मंसिर ७ मा राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसपछि हैदराबाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
‘भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ,’ सचिव राईले शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भने।
सचिव राईका अनुसार, मंसिर ७ गते मोदीसँग सुरुमा एक्लाएक्लै र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि संयुक्त पत्रकार सम्मेलन तथा द्विपक्षीय समझदारी र सम्झौतापत्र आदानप्रदानको कार्यक्रम छ। प्रधानमन्त्री शाहले सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्रीको भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। सरकारी टोलीसँगै निजी क्षेत्रका ५२ जना नेपाली व्यवसायी पनि दिल्ली जाने कार्यक्रम छ।
भ्रमणको मुख्य प्राथमिकतामा आर्थिक सहयोग, व्यापार, ऊर्जा, हवाई रुट, सीमापार पूर्वाधार, लगानी र कनेक्टिभिटी रहेका छन्। नेपालले भारतसँग विकास आयोजनाका लागि आर्थिक सहयोग विस्तार तथा नयाँ परियोजनामा सहकार्यको प्रस्ताव अघि बढाउने तयारी गरेको छ। करिब दुई अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहयोग प्याकेजबारे पनि छलफल गर्ने सरकारको तयारी छ।
‘नेपालका लागि भारत एक ठूलो र महत्त्वपूर्ण साझेदार राष्ट्र हो,’ परराष्ट्र सचिव राई भन्छन्, ‘दुवै देशका नेतृत्वहरू बीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रहरूमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल हुनेछ।’
नेपालको प्रमुख चासोमध्ये हवाई प्रवेश रुट विस्तार पनि एक हो। विशेषगरी महेन्द्रनगर रुटबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पाउनुपर्ने नेपालको माग छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई रुट आवश्यक भएकाले यस विषयमा भारतीय पक्षसँग विशेष छलफल हुनेछ। हवाई रुटसम्बन्धी प्राविधिक तथा सुरक्षा पक्षमा दुवै देशबीच यसअघि पनि छलफल हुँदै आएको छ। ऊर्जा क्षेत्रमा भारतमा नेपालको विद्युत् निर्यात विस्तार, अन्तरदेशीय प्रसारण लाइन निर्माण, जलविद्युत् आयोजनामा भारतीय लगानी र बंगलादेशसम्म विद्युत् व्यापार सहज बनाउने विषय प्राथमिकतामा छन्। नेपालले जलविद्युत् उत्पादनसँगै क्षेत्रीय ऊर्जा बजारमा आफ्नो पहुँच विस्तार गर्न भारतको सहयोग खोजिरहेको छ।
सीमापार पूर्वाधारतर्फ रेलमार्ग, सडक, एकीकृत जाँच चौकी (आईसीपी) तथा पुल निर्माणसम्बन्धी आयोजना पनि छलफलमा रहनेछन्। अयोध्या–जनकपुर रेल सम्पर्क, दार्चुलामा पुल निर्माण, भैरहवाको एकीकृत जाँच चौकी तथा काभ्रेको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठानको नयाँ भवनसँग सम्बन्धित कार्यक्रम भ्रमणका क्रममा अघि बढाइने तयारी छ।
व्यापार तथा लगानी विस्तारका लागि दिल्लीमा ‘नेपाल–भारत बिजनेस फोरम’ आयोजना हुनेछ। कार्यक्रममा नेपाली र भारतीय व्यवसायीबीच व्यापार, औद्योगिक साझेदारी र लगानीका सम्भावनाबारे छलफल हुनेछ। प्रधानमन्त्री शाहले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे सम्बोधन गर्ने कार्यक्रमसमेत छ।
नेपाली पक्षले सूचना प्रविधि, स्टार्टअप, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग र खेलकुद क्षेत्रमा पनि भारतीय सहयोग तथा साझेदारी विस्तार गर्न चाहेको छ। क्रिकेट पूर्वाधार, खेलाडी तथा प्रशिक्षकको क्षमता विकास, प्रविधि हस्तान्तरण र स्टार्टअप सहकार्य नेपालका सम्भावित चासोका क्षेत्र हुन्। यसैगरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र जनशक्ति विकासका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल–भारत सम्बन्धका पुराना विषयमध्ये सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, व्यापार असन्तुलन र पारवहन सुविधा नेपालको चासोका विषय रहनेछन्। यद्यपि यी सबै विषय यसै भ्रमणका क्रममा टुंगिने निश्चित छैन।