। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए उनीहरूको शव नेपाल पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने बताएका छन् ।
मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे क्युङसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् । भेटमा नेपाल र दक्षिण कोरियाबीच श्रम तथा रोजगार क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सोही अवसरमा मन्त्री यादवले श्रम सहकार्य सम्बन्धी समझदारीपत्र नवीकरणका लागि नेपाल सरकारले आफ्नो प्रस्ताव कोरियाली पक्षलाई पठाइसकेको जानकारी गराउँदै त्यसलाई छिटो टुंग्याउन आग्रह गरे । नेपालले पठाएको प्रस्तावबारे कोरियाली पक्षको जवाफ यथाशीघ्र उपलब्ध गराउन पनि उनको अनुरोध छ ।
त्यस्तै कोरियामा रोजगारी क्रममा नेपाली श्रमिकको मृत्यु भए शव नेपाल फिर्ता पठाउने जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा पनि मन्त्री यादवले जोड दिएका थिए ।
मन्त्री यादवले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकको सिप, ज्ञान र अनुभव स्वदेशमै रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले सरकारले ‘रिटर्नी कनेक्ट एप’ सञ्चालनमा ल्याउन लागेको जानकारी गराए । उक्त पहलमा सहकार्य गर्न उनले कोरियाली पक्षलाई आग्रह गरे ।
भेटमा नेपाली श्रमिकको अधिकार तथा कल्याणको संरक्षण, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन, सिप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुन: एकीकरणका अवसर विस्तार गर्ने विषयमा छलफल भएको थियो ।