: न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स (एनजेडएनसीसी) ले अकल्यान्डमा आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। ‘क्लाइम्बिङ न्यु हाइट्स’ अर्थात् ‘नयाँ उचाइतर्फको यात्रा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल र न्युजिल्यान्डबीच सरकारी तह (जीटुजी) तथा निजी क्षेत्र (बीटुबी) मार्फत सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल गरिएको छ।
अकल्यान्ड सिटीस्थित अकल्यान्ड बिजनेस चेम्बरमा आयोजित कार्यक्रममा दुई देशबीच आर्थिक सहकार्य, व्यापार तथा लगानीका अवसर पहिचान गर्न विभिन्न प्रस्ताव र त्यसका कार्यढाँचाबारे सहभागी वक्ताहरूले आफ्ना धारणा राखेका थिए।
साथै कार्यक्रममा एनजेडएनसीसी र अकल्यान्ड बिजनेस चेम्बरबीच व्यापारिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षरसमेत भएको छ। समझदारीपत्रमा एनजेडएनसीसीका अध्यक्ष राज महर्जन र अकल्यान्ड बिजनेस चेम्बरकी प्रमुख सञ्चालन अधिकृत लेआ गेट्सले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा अकल्यान्ड बिजनेस चेम्बरकी प्रमुख सञ्चालन अधिकृत गेट्सले यस सहकार्यले दुई संस्थाबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपाल र न्युजिल्यान्डका व्यवसायीलाई एकअर्काको बजार तथा सम्भावित अवसरसँग जोड्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन्।
कार्यक्रममा एनजेडएनसीसीका पूर्वअध्यक्ष लालबहादुर केसीले संस्थाले विगतका दिनमा पुर्याएको योगदानबारे चर्चा गर्दै नेपाल र न्युजिल्यान्ड सरकारबीच व्यापारिक सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, चेम्बरका पूर्वअध्यक्ष एवं न्युजिल्यान्डका लागि नेपालका पूर्ववाणिज्यदूत दिनेश खड्काले चेम्बरले ल्याएका कार्यक्रमबाट धेरै नेपाली व्यवसायीले सही मार्गदर्शन पाएको बताए। कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश पठाउँदै एनजेडएनसीसीको १० वर्षे यात्रा नेपाल र न्युजिल्यान्डबीच व्यावसायिक सम्बन्ध विकास तथा आर्थिक सम्बन्ध सुदृढ बनाउन गरिएको निरन्तर प्रयासको प्रमाण भएको बताए।
कार्यक्रममा एनजेडएनसीसीका अध्यक्ष राज महर्जनले चेम्बरले दुई देशका व्यवसायीबीच सहकार्यका नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। उनले चेम्बरले विगत एक दशकमा हासिल गरेका उपलब्धि र भोगेका चुनौतीबारे चर्चा गर्दै न्युजिल्यान्डमा रहेका साना तथा ठूला नेपाली व्यवसायीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे। समारोहमा नेपाल र न्युजिल्यान्डबीच आर्थिक सहकार्यका सम्भावनासम्बन्धी दुईवटा तथ्यपत्र प्रस्तुत गरिएको थियो।
क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक डा. राजेश ढकालले प्राविधिक क्षेत्रमा दुई देशका सरकारबीच हुन सक्ने सहकार्यका विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, एनजेडएनसीसीकी उपाध्यक्ष एवं ग्रेस इन्टरनेसनल न्युजिल्यान्डकी निर्देशक मन्दिरा रिमालले उच्चशिक्षा क्षेत्रमा व्यवसाय–व्यवसायबीचको सहकार्यका सम्भावनाबारे प्रस्तुति दिएकी थिइन्।