: वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका विभिन्न पालिकामा एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गरिने भएको छ। पर्साको वीरगन्ज महानगरपालिका तथा बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा उक्त सेवा सञ्चालन गर्न लागिएको हो।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यही मंसिरभित्र नगर बस सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी अघि बढाउने निर्णय गरेको छ।
बैठकले यातायात सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। उक्त कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ।
यसअघि गत कात्तिक १२ गते बसेको बैठकले एकीकृत यातायात सेवा सञ्चालनको सम्भाव्यता अध्ययन र आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो। बिहीबारको बैठकले उक्त कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ। साथै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि सोही कार्यदललाई दिइएको छ, जसअनुसार कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि पेस गर्नुपर्नेछ।
वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकरप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन्।
सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज बनाउने उद्देश्यले यो योजना अघि बढाइएको हो। नगर बस सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुनेछ।
यसबाट निजी सवारीसाधनमा निर्भर हुनुपर्ने तथा गन्तव्यमा पुग्न पटक–पटक सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यतासमेत कम हुने विश्वास गरिएको छ। बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगन्ज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कीर्तिराज सुवेदीलगायतको उपस्थिति रहेको थियो।