मुख्य समाचार
जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग
जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

। जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ ।

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो ।

नेटवर्कको विशेष कार्यक्रम ‘सान्टियागो नेटवर्क इन २०२६ : द इयर अफ स्केल्ड डेलिभरी’ मा नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका प्रतिनिधि दीपक केसीका अनुसार यो साझेदारीले जलवायुजन्य हानि तथा नोक्सानीलाई नेपालको जलवायु नीति र योजनाको अभिन्न अंगका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ ।


यस सहकार्यले विज्ञान, शासन प्रणाली र वित्तीय स्रोतलाई एकीकृत गर्दै जलवायु उत्थानशील पुन:स्थापना, जोखिम न्यूनीकरण र दिगो विकासका लागि आधार तयार गर्ने लक्ष्य राखेको छ ।

केसीका अनुसार जलवायु परिवर्तनका प्रभावको वैज्ञानिक अध्ययन, संस्थागत शासन प्रणाली र वित्तीय व्यवस्थाबीच समन्वय कायम गरी विपद्पछिको पुन:स्थापना तथा भविष्यमा हुने जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्य साझेदारीको छ ।

गत नोभेम्बर १६ मा यूएनडीपी नेपाल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि कोप–३१ को विशेष कार्यक्रममा सान्टियागो नेटवर्कसँग नेपालको साझेदारी र प्राविधिक सहयोग औपचारिक रूपमा घोषणा गरिएको हो ।

यस सहयोगअन्तर्गत यूएनडीपी, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र क्लाइमेट एनालिटिक्सले नेपाल सरकारलाई राष्ट्रिय प्राथमिकतामा आधारित रणनीतिक योजना निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउनेछन् ।

प्रस्तावित योजनामा जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको मूल्यांकन, तथ्यांक संकलन तथा व्यवस्थापन, संस्थागत समन्वय र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका विषय समेटिनेछन् ।

सान्टियागो नेटवर्कको आधिकारिक विवरणमा पनि नेपालको अनुरोधअनुसार एकीकृत राष्ट्रिय ढाँचा र सरकारबाट अनुमोदित रणनीतिक योजना निर्माणमा सहयोग गर्ने उल्लेख छ ।

कोप–३१ मा नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. महेश्वर ढकालले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा यूएनडीपीका रोनाल्ड ज्याक्सन र इसिमोडका कुन्जाङ के.ले पनि साझेदारी तथा प्राविधिक सहयोगसम्बन्धी विषयमा योगदान गरेका थिए ।

हिमताल विस्फोटजन्य बाढी, बाढीपहिरो, अतिवृष्टि तथा अन्य जलवायुजन्य विपद्को जोखिममा रहेको नेपालका लागि यो साझेदारी महत्त्वपूर्ण मानिएको छ । यसबाट विपद्बाट भएको क्षतिको व्यवस्थित अभिलेख तथा मूल्यांकन, जोखिम पहिचान, सरकारी निकायबीच समन्वय र पुन:स्थापनाका लागि लगानी प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रणनीतिक योजना निर्माणले जलवायुजन्य हानि तथा नोक्सानीलाई विपद्पछि गरिने उद्धार र राहतमा मात्र सीमित नराखी राष्ट्रिय विकास योजना, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र वित्तीय व्यवस्थापनसँग जोड्ने आधार तयार गर्नेछ ।

यसबाट जलवायुजन्य क्षतिको मूल्यांकन र आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सन् २०१९ मा स्थापना भएको सान्टियागो नेटवर्कले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट सिर्जित हानि तथा नोक्सानी रोक्न, न्यूनीकरण गर्न र सम्बोधन गर्न विकासशील तथा जलवायु जोखिममा रहेका देशहरूलाई प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार–प्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जनाएका छन् । भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् । युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र त्यसअनुसार त्यसबेलै अभिव्यक्तिहरू संसद्मै समेत दिएको उनी बताउँछन् । तर युवाहरूको आक्रोशलाई एकीकृत गरेर अगाडि बढाउने गरी पार्टीले नेतृत्व लिन नसकेको उनको स्वीकारोक्ति ...
। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । आफू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर ...
। परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गरेका हुन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको ...