मुख्य समाचार
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव

। बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ ।

प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।

त्यस्तै, चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगजनी गरेको छ ।


ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।

२८ जिल्लामा बम विस्फोट र मानवीय क्षति

बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।

हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्‍यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।

त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ ।

स्वदेश फर्किने शेख हसिनाको घोषणापछि तनाव

अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।

यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । त्यसयता देशमा राजनीतिक तनाव बढ्दै गएको छ ।

मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो ।

बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

मंगलबार राति संसदमा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनासहित फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए ।

द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन् ।

सुरक्षा व्यवस्था कडा, ढाकाबाट ५६५ जना पक्राउ

बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।

गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् ।

सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए ।

पछिल्लो हिंसाले बंगलादेशको राजनीतिक अस्थिरता पुन: चर्किएको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसीएचएका अनुसार सोमालियाभर हाल ३३ लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन्। विस्थापित हुनेमा अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघीय ...
। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ सार्वजनिक मञ्चमा देखिएका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेनमा बुधबार राति आयोजित स्वागत रात्रिभोज (गाला डिनर) अघि तीनै नेता रेड कार्पेटमा सँगै उभिएका हुन्। रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा विश्वका तीन शक्तिशाली ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। पुटिनले ...