: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन गरेको बताएका छन् ।
बुधबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए ।
उनले चालु आर्थिक वर्षमा मधेस प्रदेशका लागि एकमुष्ट रूपमा उल्लेख्य बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकासका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लम्सालले खानेपानी तथा पूर्वाधार निर्माणका क्षेत्रमा समेत उल्लेख्य बजेट छुट्याइएको बताउँदै सरकारले मधेस प्रदेशलाई प्राथमिकतामा राखेको दाबी गरे ।
मधेस प्रदेशमा श्रमिकको सङ्ख्या बढी रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालासमेत वृद्धि गरिएको उनले बताए ।
उनले सडक सञ्जाल विस्तार, आधारभूत पूर्वाधार निर्माण तथा मधेस प्रदेशको समग्र विकासलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।