: नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेकी हुन्।
‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन।’,११ वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्किएकी नेता भण्डारी भनिन्,‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइनन् ।
उनले आफूले राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गरिन्। उनले भनिन्- ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन ।’
शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको टिप्पणी गरिन् । पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने उनको भनाई छ।