मुख्य समाचार
अहिलेको संकटबाट पार्टी फेरि उठ्ने
अहिलेको संकटबाट पार्टी फेरि उठ्ने

। देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् ।

भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास गरे । ‘कतिले एमाले मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान्,’ अध्यक्ष ओलीले भने, ‘हेर्दाहेर्दै एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’

विगतमा पनि एमाले सिध्याउने असफल प्रयत्न भएको उदाहरण दिँदै ओलीले निर्वाचनको नतिजाबाट निराश नबन्न पार्टीपंक्तिसँग आग्रह गरे ।

‘फेरि पनि भन्न चाहन्छौं– एमाले यो देशको भविष्य हो,’ ओलीले भने ।


उद्घाटन सत्रको एकल वक्ता ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिबारे आफ्ना पुरानै अडान सुनाए । उनका अनुसार एमाले आफ्नो कारणले गत निर्वाचनमा पराजित भएको होइन ।

बाह्य शक्तिको चलखेलकै कारण एमालेले गम्भीर धक्का बेहोर्नु परेको विश्लेषण ओलीले सुनाए ।

‘मुख्य रुपमा बाह्य हमला,’ निर्वाचन पराजयको कारणबारे ओलीले भने, ‘हामी माथिको निलडाम हाम्रो कारणले होइन, अत्यन्तै आतंकपूर्ण हमलाका कारणले भएको हो ।’



जेनजी आन्दोलन पछिको राजनीतिक परिस्थिति एमालेको पक्षमा नरहेको पुरानै तर्क गरे । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सहित राजनीतिक दलको कार्यालय, नेताहरुको घर जलाइएको आतंकपूर्ण वातावरणमा चुनाव गरिएको ओलीको ब्रिफिङ थियो ।

आफ्नै चिन्ता

चुनावी नतिजाबाट एमालेले गम्भीर धक्का बेहोर्नुपरेको स्वीकारेका ओलीले सम्बोधनको धेरैजसो समय भने आफ्नै चिन्तामा खर्चिए । वर्तमान सरकारले आफ्नाविरुद्ध गरेका गतिविधि सम्झने क्रममा ओलीले प्रहरी नेतृत्वमाथि गम्भीर आरोप समेत लगाए ।

ओलीको दाबी अनुसार, नयाँ आइजीपीले उनीसहित शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने चाहेका छन् ।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु,’ सम्बोधनका क्रममा ओलीले चेतावनी दिए, ‘केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन ? यिनका । थुनिदिन्छु अरे ।’

यद्यपि प्रहरीले ओलीको वक्तव्य खण्डन गरिसकेको छ । प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले अनलाइनखबरसँग ओलीको अभिव्यक्तिमा सत्यता नरहेको बताएका छन् ।

‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहिँ जानु भएको पनि छैन, त्यस्तो बोल्नु भएको पनि छैन,’ प्रवक्ता काफ्लेले भने, ‘उहाँले (ओली) कुन हिसाबले के भन्नु भएको हो हामीले पनि बुझेका छैनौं । प्रहरीले कसैलाई थुनिदिन्छु भन्ने कुरा पनि भएन ।’

आईजीपीको सन्दर्भ बाहेक पनि ओलीले व्यक्तिगत राजनीतिक कुराबारे लामै व्याख्या गरेका छन् । जेनजी आन्दोलन दमनको आरोप, मानव अधिकार आयोगको प्रतिवेदन, सरकारले गरेको गिरफ्तारीदेखि आफ्नो स्वास्थ्य अवस्थाबारेमा समेत ओलीले चिन्ता गरेका छन् ।

जेनजी आन्दोलन दमनको आरोपमा गिरफ्तार गर्नुलाई ओलीले सरकारको प्रतिशोध भनेका छन् । र, फेरि गिरफ्तार गर्न खोजिए लाखौं कार्यकर्ता सडकमा उतार्ने चेतावनी पनि दिएका छन् ।

‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफतार गर्न सक्छ,’ ओलीले कार्यकर्ताहरूसँग भने, ‘किनभने यो सरकार के गर्छ भन्ने टुंगो ठेगान भएको, तिथिविधि मान्ने, संविधान मान्ने, कानून मान्ने, एउटा मर्यादाभित्र बस्ने सरकार होइन ।’

मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीले चर्को आपत्ति जनाए । ‘विदेशी संस्थाले नेपालको कानून मानेर बस्नुपर्छ भन्दा भड्काएको ? अनि कार्बाहीको सिफारिस ?,’ ओलीले भने, ‘यो भन्दा आश्चार्यजनक कुरा के हुन्छ ? तर भयो ।’

सरकारको कदमहरूबारे भत्सर्ना गर्ने क्रममा ओलीले पार्टीभित्रै देखिएका समस्याबारे पनि विश्लेषण गरे । उनका अनुसार, ओली मुक्त एमाले बनाउने अभियान विफल भइसकेको छ ।

‘एमाले बिनाको नेपाल, त्यो गर्नका लागि केपी ओली बिनाको एमाले । कत्रो आश,’ ओलीले भने, ‘एकपटक केपी ओली गयो गयो भनेर उधुमै मच्याइयो, त्यो केही पनि होइन ।’

पार्टीभित्र उठेको पुनर्गठनको बहस पनि सकिएको सन्देश ओलीले आफ्नो सम्बोधनका क्रममा सुनाए । ओलीलाई हटाउनुपर्छ भन्ने छलफल सकिएर अहिले एमाले एकताबद्ध बनिसकेको उनको दाबी छ । ‘एमाले छलफल गर्छ, निष्कर्ष निकाल्छ, फेरि पार्टी एकताबद्ध हुन्छ । अगाडि बढ्छ,’ उनले भने, ‘यो भेला त्यसैको सन्देश हो ।’

चुनावी अभियानको थालनी

गत निर्वाचनको गम्भीर धक्कालाई बिर्साउनेगरी नतिजा निकाल्नेगरी खटिन ओलीले पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

‘एकपछि अर्को निर्वाचन आउँदैछ । आगामी स्थानीय तहको निर्वाचनमा जित्नुपर्नेछ,’ ओलीले भने, ‘चुनावसम्म हामी आराम गर्दैनौं । स्थानीय निर्वाचनमा भव्य सफलता हासिल नहुँदासम्म ।’

आगामी चुनावहरूबाटै नयाँ दलहरुले संगठन बनाउन चाहिरहेकाले त्यसलाई विफल पार्न पनि ओलीले निर्देशन दिए । ‘यो निर्वाचन मार्फत संगठन बनाउन खोज्दैछन्, हामी सशक्त संगठन लिएर जानेछौं,’ ओलीले भने, ‘पार्टी छैन, उनीहरू क्लब बनाएर जाँदैछन् ।’

आगामी चुनावहरूमा लिगेसी बोकेका दलहरूबीच सहकार्य हुने संकेत पनि ओलीले दिए । ‘राजनीतिक दलहरू एकठाउँमा उभिनुपर्छ, एकजुट भएर बढ्नुपर्छ,’ ओलीले भने । अरु दलहरूसँग सहकार्यको पहलकदमी एमालेले नेतृत्व तहबाट लिने जानकारी पनि उनले दिए ।

तर कार्यकर्ता पंक्तिले भने तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय बमोजिम चुनावी तयारीमा खटिनुपर्ने ओलीले बताए ।

‘दुई कार्यभार र १५ वटा कामहरू तलसम्म लिएर जानेछौं, जनसंवाद शुरु गर्नेछौं,’ ओलीले भने, ‘एमाले कुनै हुतिहाराहरूको पार्टी होइन, जिउँदो मान्छेहरूको पार्टी हो । यसको सन्देश दिनेछौं ।’

ओलीको सम्बोधनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रशिक्षात्मक मन्तव्य राखेका थिए । पौडेलले एमालेले नेतृत्व गरेका विगतका सरकारहरूको राम्रो काम सम्झिएका थिए ।

महासचिव पोखरेलले भने पार्टी संगठन शुद्धीकरण प्रस्तावहरू सहित स्थानीय निर्वाचनमा पार्टीको नीतिबारे सामग्री प्रस्तुत गरेका थिए । राष्ट्रिय भेलाको दोस्रो दिन भोलि वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक मन्तव्य र उपाध्यक्ष रामबहादुर थापाको संसदीय अनुभव प्रस्तुत हुने कार्यसूची छ ।

एमाले पालिका पदाधिकारी, जिल्ला पदाधिकारी, प्रदेश पदाधिकारी सहितको भेलामा सहभागीहरूले भने आफ्नो सुझाव लिखित रुपमा बुझाउनुपर्ने भएको छ । यसअघि हुने भेला र बैठकहरूमा समूहगत छलफल मार्फत निष्कर्ष निकाल्ने अभ्यास एमालेमा हुने गरेको थियो ।

तर यसपटक ओली सहित नेताहरुको मन्तव्य सुनाएर देशभरबाट आएका कार्यकर्तालाई आफ्नो क्षेत्रमा फर्काउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेकी हुन्। ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण ...
। सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने कानुनी आधार थप बलियो भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले ...
: मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौंको लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । null प्रहरीका अनुसार ...
: नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग समन्वय नगरी संविधान संशोधन गर्दा अविश्वास पैदा हुने बताएका हुन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रलाई सम्बोधन गर्दै उनले दूरगामी महत्वका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग पर्याप्त छलफल र राष्ट्रिय सहमति हुने बताएकी हुन्। उनले सरकार निरंकुश बन्ने नहुने धारणा राखिन्।‘लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको सम्मान हुनुपर्छ। संवैधानिक निकायका ...
: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याएका छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने,‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो।’ हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरू हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश ...