। दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।
बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् ।
उनले पूर्वाधार विकास आर्थिक वृद्धि, राष्ट्रिय सम्पर्क विस्तार र नागरिकको जीवनस्तर सुधारको महत्वपूर्ण आधार भएको बताए ।
दक्षिण कोरियाले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा हासिल गरेको अनुभव र प्राविधिक विशेषज्ञता नेपालसँग साझा गर्न चाहेको उनको भनाइ छ ।
राजदूत पार्कले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणमा कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले समग्र डिजाइन तथा सुपरिवेक्षणको काम गरिरहेको जानकारी दिए ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले महादेवटार सुरुङ निर्माण गरिरहेको उल्लेख गर्दै उनले दुवै देशका कम्पनीले आ–आफ्नो प्राविधिक दक्षतामार्फत आयोजनामा योगदान पुर्याइरहेको बताए ।
उनले नेपालको राष्ट्रिय गौरवको आयोजना अघि बढाउने सरकारको प्रतिबद्धताको प्रशंसा गर्दै यसको सफल कार्यान्वयनमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए ।
दक्षिण कोरियाको विकास अनुभव प्रस्तुत गर्दै राजदूत पार्कले सन् १९६० को दशकको अन्त्यतिर सोल र बुसान जोड्ने ग्योङ्बु एक्सप्रेसवे निर्माणमा कोरियाली सेनाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
नेपालको द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरिरहेको योगदानसँग उक्त अनुभव समान रहेको उनले बताए ।
उनले द्रुतमार्ग आयोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिँदै नेपालसँग पूर्वाधार विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिशद्धता व्यक्त गरे ।