— तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा निर्माणाधीन सडकतर्फ नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो।
कार्यक्रममा पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।
महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।
यसअघि निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किलोमिटर लामो सुरुङको भदौ दोस्रो साता ब्रेक थ्रु भएको थियो। उक्त सुरुङ नेपालको सबैभन्दा लामो सुरुङ रहेको सहायक रथी एवं सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका थिए।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटर छ। यसमध्ये सुरुङको कुल दूरी ११.२ किलोमिटर छ।
द्रुतमार्गमा निर्माणाधीन सातवटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ। अहिले ती सुरुङमा फिनिसिङको काम भइरहेको छ। धेद्रे सुरुङको दूरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडाको १ हजार ६ सय २३ मिटर छ।
चन्द्रामभीर सुरुङको दूरी २ हजार २ सय ३७ मिटर छ। यसमा ७ सय ८० मिटर खनिसकिएको छ। ५ सय २० मिटरको सिसौटार सुरुङमा ५३ मिटर र १ हजार ८७ मिटरको देवीचौर सुरुङमा १ सय २३ मिटर खनिएको सेनाले जनाएको छ। ५ सय ८३ मिटरको मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको छ।
निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको द्रुतमार्गको काम सुरु भएको नौ वर्ष पुगिसकेको छ। तर आयोजनाको भौतिक प्रगति अझै आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रुख कटानको काम समयमै टुंगिन नसक्दा आयोजना सम्पन्न हुने समय पटक-पटक सर्दै आएको छ।
सेनालाई २७ साउन २०७४ मा निर्माणको जिम्मा दिइएको यो आयोजना मंसिर २०८१ मै सम्पन्न हुनुपर्ने थियो। काम नसकिएपछि पहिलो पटक चैत २०८३ सम्म म्याद थपिएको थियो। पछिल्लो पटक चैत २०८६ सम्म म्याद थपिएको छ।
खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, आयोजनाको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय हुन बाँकी छ। यस क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ।
द्रुतमार्गमा पर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का भएर काम भइरहेको छ। खोकना खण्डका चारवटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन भने पाँचवटा पुल निर्माण भइसकेका छन्। आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन्।
समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ। गत भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।