मुख्य समाचार
विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित
विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित

। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।

कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो ।

विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ । यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ ।

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ । धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ ।


प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुन:सञ्चालन गरिएको थियो । क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए । त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत्गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो ।

त्यसपछि गत असोजको बाढीपहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ । विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए ।

कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।

मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्ग क्षति गरेको छ ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत्गृहमा पानी पसेर डुबान भएको थियो । हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँचमार्ग र ढुवानीको समस्या देखिएको छ । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ । दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ ।

यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ । बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ ।

जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँचमार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनसहित ...
। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान सरकार विधिमा नचलेको टिप्पणी गरे। ‘यो सरकारले ढंगले काम गरिहेको छ? विधिमा काम गरिरहेको छ?’ सम्बोधनका क्रममा थापाले भने ‘छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा ...
: रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् । सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमूखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि ...